कांग्रेस अधिवेशनमा निर्वाचित शिक्षक/कर्मचारीलाई राजनीतिक कार्यमा सामेल नगराउन आदेश

बिहीबार, असोज २१, २०७८

काठमाडौं : उच्च अदालत पाटनले शिक्षक र सरकारी कर्मचारीलाई राजनीतिक कार्यमा संलग्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाली कांग्रेसको वडा तथा पालिका अधिवेशनमा निर्वाचित शिक्षक, प्राध्यापक तथा सरकारी कर्मचारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले उनीहरुलाई राजनीतिक कार्यमा संलग्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा अधिवेशनबाट निर्वाचित भएका शिक्षक, प्राध्यापक तथा सरकारी कर्मचारीविरुद्ध सिन्धुपाल्चोकका सुनिल बोहराले रिट दायर गरेका थिए ।

इजलासले भनेको छ, 'विपक्षीहरुलाई राजनीतिक कार्यहरुमा सामेल नगर्नु/नगराउनु भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।' विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ ।

निवेदकले माग गरेको अन्तरिम आदेशको टुंगो लगाउन दुवै पक्षलाई ७ कात्तिकमा छलफलका लागि बोलाएको छ । अब कांग्रेस अधिवेशनमा निर्वाचित भएका शिक्षक र सरकारी कर्मचारीको ७ कात्तिक अर्थात अन्तरिम आदेशको टुंगो नलागेसम्म अल्पकालीन आदेशले पद रोक्का भएको छ ।  

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार