भारतमा सक्रिय सङ्क्रमित घट्दै

सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनायताकै थोरै
बुधबार, असोज २०, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिनापछि कै कम देखिएको छ ।  अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।
यो सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । 
नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ । 
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सबैभन्दा धेरै एक लाखभन्दा बढी देखिँदै आएको छ । केरलामा अहिले पनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सबैभन्दा धेरै रहेको थियो ।–एएनआई
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार