सोसल मिडिया
Contact Us
युनिकोड
बझाङ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत बझाङ पुगेका छन् ।
निर्वाचन गर्न खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट अपहरणमा परेपछि केन्द्रीय निर्वाचन समितिले छिटो छरितो निर्वाचन सम्पन्न गर्न पुष्कर महर श्रेष्ठलाई बझाङ पठाएको छ ।
अज्ञात समूहले जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृतलाई शनिबार राति अपहरण गरेपछि असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको थियो । सोमबार जिल्लाका सबै अग्रज नेताहरूको बैठक बसी असोज २१ गते जिल्ला निर्वाचन गर्ने निर्णय भएको जिल्ला स्तरका नेताहरूको भनाई छ ।
निर्वाचनमा होमिएको दुईटै प्यानलले एकअर्कालाई निर्वाचन अधिकृत गायब पारेको आरोप लगाउँदै आएका छन् । निर्वाचनमा पूर्व मन्त्री अर्जुनजङ्गबहादुर सिंह, पूर्वमन्त्री सुरेश मल्ल, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी, संविधानसभा सदस्य चन्द्रा जोशी र नेता चेतराज बजालले खडक बोहरा सभापति रहेको संयुक्त प्यानल अघि सारेको थियो ।
पूर्वराज्य मन्त्री नरेश बहादुर सिंह तथा पूर्व जिल्ला सभापति पृथ्वी बहादुर सिंहले रमेश भण्डारी सभापति रहेको प्यानल अघि सारेका छन् । नेताहरूले अघि सारेका दुवै प्यानलको कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको थियो । स्वच्छ निर्वाचन प्रतिस्पर्धामा आफूले समर्थन गरेको प्यानल नै पराजित हुने अवस्था सिर्जना भएपछि कुनै एक प्यानलका कार्यकर्ताले मतदान अधिकृतलाई अपहरण गरेको बताइएको छ ।
अपहरणमा परेका निर्वाचन अधिकृत भट्ट पनि सम्पर्कमा आइसकेका छन् । उनले आफूलाई राति अज्ञात समूहले अपहरण गरेर गाडीमा हालेर अत्तरिया छोडिदिएको बताएका छन् । अहिले आफू सकुशल रहेको उनले बताएका छन् । स्वच्छ निर्वाचन गराउन खोज्दा आफू अपहरणमा परेको उनको प्रतिक्रिया छ ।