काबुलमा भएको झडपमा तीन आईएस लडाकु मारिए

सोमबार, असोज १८, २०७८


काबुल । अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन् । प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन ।  कोटल–ए–खैरखाना इलाकामा घन्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा  समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन् । उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन् । यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो ।  उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार