ट्रम्पद्वारा ट्विटर खाता पुनः स्थापित गर्न माग

आइतबार, असोज १७, २०७८

न्युयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सङ्घीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनः स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन् । ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो ।
ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन् । प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लङ्घन गरेको बताएका छन् । यद्यपि ट्विटरले ट्रम्पको फाइलिङमा शनिबार टिप्पणी गर्न भने अस्वीकार गरेको छ ।
जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट काँग्रेसलाई रोक्नका लागि उनका अनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएको थियो । ट्विटरका माध्यमबाट ट्रम्पले थप हिंसा भड्काउने आँकलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाएको जनाएको छ । प्रतिबन्ध अघि ट्रम्पको ट्विटरमा करिब ९ करोड ८० लाख फलोअर्स थिए ।
ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थप हिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको युट्युबबाट समेत निलम्बन गरिएको थियो । फेसबुकको प्रतिबन्ध २०२३ जनवरीसम्म कायम रहने छ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ । जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीनवटा टेक कम्पनीहरू र त्यसका सीईओविरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।– एपी
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार