महिला उम्मेदवार निर्वाचित नहुँदा कतारमा निराशा

आइतबार, असोज १७, २०७८

दोहा । कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उम्मेदवार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् । 
योसँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद नियुक्त गर्दा महिलालाई  समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जनभन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसद्भन्दा पनि लोकतन्त्रको महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ ।  
निर्वाचनमा पराजित उम्मेदवार आयशा जसिम अल–कुवारीले अमीरको कोटा अर्को विधानसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नका लागि महत्वपूर्ण रहेको बताएकी छिन् ।  आयशा १४ जना पुरुष दावेदारहरूविरुद्ध चार अन्य महिलाहरूसँगै निर्वाचनमा भाग लिएकी थिइन् ।
“हामी चारदेखि पाँच महिला नियुक्त हुने आशा गर्दछौँ किनकी महिलाहरूको उपस्थिति धेरै महत्वपूर्ण छ ।
“केही महिला उम्मेदवारहरू पक्कै निराश भएका छन् किनकी उनीहरूले बलियो कार्यक्रम प्रस्तुत गरेका थिए तर पनि पुरुष उम्मेदवार नै विजयी भए ,उनले भनिन् । 
अमीरले गर्ने नियुक्ति कहिले हुनेछ वा कहिले परिषद् बैठक बस्नेछ भन्नेबारे अझै स्पष्ट भएको छैन ।
अर्की मतदाता शम्माले आफ्नो पूरा नाम खुलाउन अस्वीकार गर्दै भनिन् “म खुसी छैन किनकी ती सबै (विजेता) पुरुष हुन्, उनीहरूमध्ये केही पुराना छन् । इमान्दारितापूर्वक भन्नुपर्दा म अचम्ममा परेकी छु यो परिणाम उचित छैन जहाँ महिलाको प्रतिनिधित्व शून्य छ ।’
यसैगरी गल्फ इन्टरनेशनल फोरमकी निर्देशक डानिया थाफेरले ट्वीटमा लेखेकी छिन् “म अमीरले महिलालाई नियुक्त गर्ने प्रबल सम्भावना देखेको छु ।” कतारमा शनिबार भएको विधायिका निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको थियो ।– एएफपी
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार