इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ८ सय घाइते 

१५ हजार विस्थापित
शनिबार, माघ ३, २०७७

जकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण १५ हजार मानिस विस्थापित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको संख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पबाट मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते छन् । मध्यम घाइतेलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैजाने गरिएको छ । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यो द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार