सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ : नेपाली कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले गुरूङलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । जारी महाधिवेशनमा जिल्ला नेतृत्व चयनमा मनाङ पहिलाे जिल्ला बनेकाे छ ।
गुरुङ कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए ।
उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले छानिएका छन् । कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भए । सहसचिवमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
मनाङबाट महाधिवेशन प्रतिनिधिमा सभापति शंकर गुरुङ, पूर्वसांसद पाल्टेन गुरुङ, पूर्वमन्त्री एवम् निवर्तमान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन् ।
यसअघि दुई कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताबीच छलफल गरी नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।
कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन सर्वसम्मत निर्वाचित
पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा शुक्रबार सम्पन्न जिल्ला अधिबेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए । सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भए । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधीले कार्यसमितिका १५ सदस्य पनि सर्वसम्मत चयन गरेका छन् । सभापतिमा निर्वाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षा अनुसार मुस्ताङमा पार्टीलाई बलीयो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताए । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मुस्ताङका सबै वडा र पालिका पनि सहमतिमा नेतृत्व चयन भएको थियो । घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२÷३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।
रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्वाचित
नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्वसहायक मन्त्री हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् । खाममगर निवर्तमान उपसभापति हुन् । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका हुन् । जिल्ला कार्यसमितिको सदस्यमा सङ्गिता बुढामगर, बालकुमारी खड्का (घर्ती), रमुना विक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, बसन्तकुमार बुढा, रामबहादुर नेपाली रहनुभएको छ । जम्मा १७ सदस्यीय जिल्ला कार्यसमित गठन भएको छ । सहमतिबाट जिल्ला कार्यसमिति चयन गरिएको छ । अव केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला अधिवेशनबाटै २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।
कांग्रेस विराटनगर सभापतिमा दीपक चापागाईं विजयी
नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले २ सय १२ मतसहित पाउँदा न्यौपानेले १ सय ६५ मतमा चित्त बुझाए । न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् । सभापतिकै प्रतिस्पर्धी कृष्ण कार्की र अरूण न्यौपाने क्रमशः १सय ३३ र १ सय २७ मत पाएर पराजित भए । उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।शनिबार भएको नगर अधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो ।