सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं :
नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैंपछि हुने भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा दशैंपछि अधिवेशन हुने भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन । नामावली प्राप्त भइसकेका ९ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन ।
दशैं नजिकिएसँगै यी १३ जिल्लामा अधिवेश सम्भव नभएपछि दशैंपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ ।
डोल्पामा निर्वाचन सामाग्री लिएर निर्वाचन अधिकृतसहितको टोली गए पनि त्यहाँ पुग्न सकेको छैन । १३ जिल्लामा दशैंपछि अधिवेशन गर्ने भनिए पनि त्यसबारे आधिकारीक निर्णय हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रको निर्णय अनुसार कतिपय हिमाली जिल्लामा भने जिल्ला तहकै अधिवेशन भइरहेको छ । २१ हिमाली जिल्लामध्ये रसुवाको भने सदस्यता टुंगिएको छैन ।
मोरङमा पालिकाको मतपरिणाम आउन थाल्यो
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मोरङका पालिकाहरूमा भएको मतपरिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार मोरङको मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन् ।
निर्वाचित राईले १३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी अरुण विक्रम बस्नेतले २१ मत प्राप्त गरेका छन् । तीन तीन मत बदर भएको थियो । सभापति बाहेक अन्य पदमा भने शुक्रबार नै सर्वसम्मत भएको थियो ।
त्यसैगरी कटहरीमा पौडेल समूहका रामकुमार कामत ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हरिनारायण माझीले ४३ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरेका छन् ।
उपसभापतिमा कपुरलाल माझी ८० र गोकर्ण भट्टराई १०० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सचिवमा वसन्त चौधरी, तुलाराम राजवंशी सहसचिवमा केशव सरदार विजयी भएका छन् । पदाधिकारीमा निर्वाचित सबै पौडेल समूहकै हुन् ।
त्यसैगरी धनपाल थानमा देउवा समूहका दीपक वीर पाण्डे सभापतिमा निर्वाचित भएका छन् । पाण्डेले ८३ मत प्राप्त गरेका थिए । धनपाल थानमा अरू पदमा शुक्रबार नै सर्वसम्मत भएको थियो ।
यसैगरी बेलबारीमा कोइराला प्यानलका छत्र लिम्बु विजयी भएका छन् । निर्वाचनमा शेरबहादुर देउवा प्यानलका शम्भु भट्टराईलाई ४२ मतले पछि पार्दै सभापति लिम्बु निर्वाचित भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरेका छन् । भट्टराईले ९४ मत प्राप्त गरेका छन् ।
लिम्बु र भट्टराई नेतृत्वको दुई वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सभापतिमा कोइराला समूहका लिम्बु निर्वाचित भए पनि अन्य पदमा भने मिश्रित परिणाम आएको छ । उपसभापतिमा लिम्बु समूहकी नितु थापा कोइराला र भट्टराई समूहका उपेन्द्र सुवेदी निर्वाचित भएका छन् । नितुले १ सय ५३ र उपेन्द्रले १ सय २१ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा लिम्बु समूहका सन्तोष भट्टराई १ सय २६ मत सहित विजयी भए । भट्टराई समूहका जनक पोखरेल पनि १ सय १६ मतसहित विजयी भएका छन् ।
सहसचिवमा भट्टराई समूहबाट चुनाव लडेका विशाल ढकाल १ सय २९ मतसहित विजयी भएका छन् । लिम्बु समूहका बद्री विष्ट १ सय १४ मतसहित विजयी भए । नगर सदस्यहरू भने यसअघि नै निर्विरोध चयन भैसकेका थिए । उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।