सोसल मिडिया
Contact Us
युनिकोड
धनकुटा :
नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि शनिबार बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको हो । समितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सहसचिवमा ज्ञानेन्द्र बस्नेत र शारदासन्तोषी राई सर्वसम्मत भएका छन् । कोषाध्यक्ष पछि मनोनित गरिने जनाइएको छ ।
९ असोजदेखि सुरु भएको नगर अधिवेशनमा श्रेष्ठसहित उपसभाति भएका कर्माचार्यले दाबी गरेपछि सहमतिका लागि भन्दै पटक पटक कार्यतालिका परिवर्तन र स्थगित हुँदै आएको थियो । अन्तत: धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष समेत रहेका श्रेष्ठ सभापतिमा सर्वसम्मत भएको निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिए।
धनकुटाका अन्य स्थानीय तहमा यसअघि नै कांग्रेसले नेतृत्व चयन गरिसकेको छ । चौविसे गाउँपालिकामा पदाधिकारीको लागि र महालक्ष्मी नगरपालिकामा सभापतिको लागि निर्वाचन भएको थियो भने पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको थियो ।
सर्वसम्मत नेतृत्वको लागि कपिलवस्तुमा पहल
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कपिलवस्तुमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्यको आह्वानमा जिल्ला र केन्द्रका शीर्ष नेताबीच छलफल भएको जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । 'सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सबैको सकारात्मक धारणा आएको छ । सबैले बाधक नबन्ने प्रतिबद्धतासमेत गर्नु भएको छ । गृहकार्य गरी वातावरण बनाई अर्को बैठक बस्ने निष्कर्ष आएको छ,' प्रवक्ता मिश्रले भने ।
पहिलो चरणमा बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेस्थित होटेल प्रेम सागरमा आकांक्षीबीच छलफल चलाइएको थियो । छलफलमा सभापतिको दौडमा रहेका ९ जना उपस्थित रहेका थिए । सभापति आकांक्षी राजेश आचार्य, सुधाकर पाण्डे, हरिराज घिमिरे, अब्दुल कलाम मुसलमान, वीरेन्द्र प्रसाद मिश्र, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, दुर्गा सेन र सोरहत तेलीसँग पार्टीका शीर्ष नेताहरूले छलफल गरेका थिए ।
छलफलमा सभापति आचार्य, पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपकुमार उपाध्याय, आमन्त्रित केन्दिय सदस्यहरू अभिषेक प्रताप शाह, राजेश सिंह, पूर्व सभापति तथा पूर्वमन्त्री कमलेश कुमार शर्माको उपस्थिति भएको बताइएको छ ।
छलफल र समझदारीबाट नेतृत्व छनोट हुने हो भने पार्टी थप मजबुत हुने र नेतृत्वका लागिसमेत काम गर्न सहज हुने सभापति आचार्यको भनाइ छ ।
जिल्लाका वडा र नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । ९ पालिकामा भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्ष हाबी देखिएको छ । यहाँ पौडेल पक्षको वर्चश्व रहेको छ ।