सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।
नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । 'उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?' उनले प्रश्न गरे ।
उनले १४औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । 'काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,' उनले भने, 'अरुको छोराहरुले त अवसर पाएका छन् त ।'
शेरबहादुर र रामचन्द्रलगायत असफल नेताको गुणगान नगाउन अपिल
कांग्रेसका नेता सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
उनले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले विश्राम लिनुपर्ने बताए । '१३औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,' उनले भने, 'अनि किन गुणगान गाउने ?'
नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप थियो ।
सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाए । 'पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ,' उनले भने, 'देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई वेवास्ता गर्ने?'
पार्टीको सिद्धान्त, आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समुदायमा चिनारी दिएको भन्दै पार्टीको महत्व बुझ्नु आजको आवश्यक्ता भएको सिंहले बताए । तर, सिद्धान्तअनुरुप डेलिभेरी हुन नसकेको उनको भनाइ थियो ।