यी हुन कांग्रेस काठमाडौंमा पालिका सभापतिका दाबेदार

शनिबार, असोज १६, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका ११ मध्ये १० पालिकाको अधिवेशन आजबाट सुरु हुँदैछ । दक्षिणकालीबाहेकका पालिकामा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । चन्द्रागिरी नगरपालिकाबाहेक प्राय सबै पालिकामा दुई समूह प्यानल नै घोषणा गरेर चुनाव प्रचारमा जुटेका छन् । चन्द्रागिरीमा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ भने बाँकी पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ । 

महानगरमा प्रगतिमान र नीलकाजी भिड्दै

संघीय राजधानीसमेत रहेको देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। १५ वर्षपछि हुन लागेको महानगरको नेतृत्वका लागि संस्थापन पक्षबाट युवा नेता प्रगतिमान रञ्जित र इतर पक्षबाट पुराना नेता नीलकाजी शाक्यबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रगतिमान नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष तथा आमन्त्रित जिल्ला कार्यसमिति सदस्य हुन् । शाक्य काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष हुन् । महानगरको निर्वाचनलाई महत्वकासाथ हेरिएको छ ।

बूढानीलकण्ठमा तीन राज

बूढानीलकण्ठ नगरपालिकामा तीन जना सभापति पदका आकांक्षी देखिएका छन् । युवा नेता गगन थापाको निर्वाचन क्षेत्र रहेको यहाँका पाँच वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् ।

नगर सभापतिका लागि राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजविक्रम थापा आकांक्षी छन् । राजन र राजविक्रम दुवै संस्थापन समूह निकट हुन् भने साविकको कपन गाउँ विकास समितिका सभापति राजाराम  सिंह–थापा समूहका नेता हुन् । पेशाले अधिवक्ता राजन नगर सचिव छन् भने राजविक्रम तरुण दलका नगर सभापति हुन् । 

दक्षिणकालीमा मयेर बस्नेतकै सम्भावना

वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसक्दा पालिका अधिवेशन सुरु हुन नुकेको दक्षिणकालीमा मेयर मोहन बस्नेत नै नगरसभापति बन्ने सम्भावना देखिएको छ । संस्थापन समूहले श्याम कार्कीलाई उम्मेदवार बनाउन खोजेपनि उनले बस्नेतलाई समर्थन गरेको नेताहरूले बताएका छन् । बस्नेत नेता प्रकाशमान सिंह निकट हुन् । 

गोकर्णेश्वरमा रामजी र कुमार भिड्ने

गोकर्णेश्वरमा नगर सभापतिका लागि रामजी श्रेष्ठ र कुमार लामाबीच प्रतिष्पर्धा हुने देखिएको छ । सस्थापन पक्षबाट राजजी र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कुमार उम्मेदवारका आकांक्षी छन् । पेशाले इञ्जिनियर श्रेष्ठ कांग्रेसका पुराना कार्यकर्ता हुन् । हालको नगरका कोषाध्यक्ष रहेका लामा व्यवसायी हुन् । 

कागेश्वरी–मनोहरामा दुई दाहाल

कागेश्वरी–मनोहरा नगरपालिकामा दुई दाहालबीच प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ दुई समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन समूहबाट उद्धव दाहाल र इतर समूहबाट मिठाराम दाहाल नगर सभापतिका उम्मेदवार हुन् । 

कीर्तिपुरमा तीन जना आकांक्षी 

कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा आकांक्षीको संख्या धेरै छ । यहाँ नगर सभापतिमा राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायत आकांक्षी छन् । नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने दाबी गरेका छन् । सहमतिका लागि पालिका अधिवेशन एक दिन पर सार्न निर्वाचन समितिलाई आग्रह गर्दा पनि नमानेको नेताहरूले बताएका छन् । 

नागार्जुनका पाण्डे र गौतमबीच प्रतिष्पर्धा

नागार्जुन नगरपालिकामा अच्यूत पाण्डे र दुर्गा गौतमबीच नगर सभापतिका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवार नेता प्रकाशमान सिंह निकट हुन् । पाण्डे साविकको इचंगुनारायण गाविसमा सभापति हुन् । 

शंखरापुरमा सत्यमान र  दिलीप

शंखरापुर नगरपालिकामा सत्यमान लामा र दिलीपकुमार श्रेष्ठबीच नगरसभापतिमा प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीको नगर सचिव रहेका लामा स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को अध्यक्षमा पराजित भएका थिए । श्रेष्ठ पनि शंखरापुर नगरपालिका–७ मा अध्यक्ष पदमा पराजित उम्मेदवार हुन् ।

तारकेश्वरमा महर्जन  र थापा

तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन र श्रीराम थापाबीच प्रतिष्पर्धा हुने देखिएको छ । महर्जन प्रतिनिधिसभा क्षेत्रीय समितिका कोषाध्यक्ष हुन् भने थापा नगर सभापति हुन् । उनी स्थानीय चुनावमा मेयरका उम्मेदवार थिए ।

टोखामा विमली र जोशी भिड्दै

टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली र दीपक जोशीबीच प्रतिष्पर्धा हुने देखिएको छ । विमली नेविसंघको  इकाई सभापति हुन् भने जोशी टोखा नगरसमितिको वडा नम्बर २ का सभापति हुन् ।

चन्द्रागिरीमा गिरी नै दोहोरिने 

चन्द्रागिरी नगरपालिकामा सहमतिमै नेतृत्व चयन हुने देखिएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई नै नेताहरूले नगर सभापतिमा दोहोर्‍याउने सहमति गरेका छन् । 

अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो । सभापतिसहित अधिकांश पदहरूमा सहमति जुटिसकेको नेताहरूले बताएका छन् ।

‘सभापतिमा त मलाई नै दोहोर्‍याउने सहमति भइसकेको छ, उपसभापतिमा दुई जनाबीच सहमतिको प्रयास जारी छ’, गिरीले भने, ‘नविन महर्जन र कृष्णहरि बस्नेतबीच उपसभापतिमा सहमति जुटाउने प्रयास भइरहेको छ, सम्भवत सबै पदमा सहमति हुन्छ होला ।’ 

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले त्यहाँ पालिका अधिवेशन अनिश्चित बनेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार