सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फका संभावित उम्मेदवारहरूलाई सुरुदेखि नै जनताका बीचमा स्थापित गराउन त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताएको छ । प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा अबको छ महिनापछि स्थानीय तह, त्यसपछि संघ र प्रदेशको निर्वाचन हुने भएकाले जनताका बीचमा स्थापित गराई निर्वाचनमा सफलता हासिल गर्न सकिने भएकाले त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । ‘पार्टी अनुशासनको पालना गर्न सक्ने, वैचारिक र राजनीतिक रूपमा स्पष्ट, आफू निर्वाचित भएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ । यस्तै, उम्मेदवार बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि संस्थागत सिफारिसको प्रक्रियामा जोड दिनुपर्ने प्रतिवेदनको प्रस्तावमा उल्लेख छ । ‘पार्टीको उम्मेदवार बनेर चुनाव लड्ने र चुनाव जितेपछि पार्टीविरुद्ध घात गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छु, प्रतिवेदनमा भनिएको छ । चुनाव जित्ने र चुनाव जितिसकेपछि पार्टीको योजनामा पार्टीको पक्षमा दृढतापूर्वक उभिने जनप्रतिनिधि निर्वाचित गराउने कुरामा पार्टीले ध्यान दिनुपर्ने बताइएको छ । पार्टीले आफ्नो शक्तिलाई एकताबद्ध रूपमा परिचालित गर्न र पार्टीको नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनताका बीचमा लगेर स्थापित गर्ने हो भने आउने चुनाव अनुकूलतामा परिणत हुने प्रबल संभावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘पार्टीको राजनीतिक कार्यदिशालाई सफल बनाउनका लागि आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी हाम्रो पार्टीले बहुमत हासिल गर्नु आवश्यक छ । त्यसका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
ईश्वर पोखरेलले औँल्याए पार्टी निर्माणका १३ वटा कमजोरी
एमाले महासचिव ईश्वर पोखरेलले पार्टी निर्माणका क्षेत्रमा विभिन्न १३ बुँदे कमजोरी औँल्याएका छन् । विधान महाधिवेशनमा सांगठानिक प्रतिवेदन पेस गर्दै उनले नेता तथा कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमीदेखि आदर्श र व्यवहारको बीचमा अन्तरविरोध जस्ता समस्या पार्टी निर्माणका क्षेत्रमा कमजोरी भएको उल्लेख गरेका छन् । ती विभिन्न समस्यालाई १३ बुँदामा यसरी उनले उल्लेख गरेका छन् ।
१. अध्ययन र प्रशिक्षणको कमी २. पार्टी सदस्यतामा मापदण्ड पालनाको समस्या ३. ठूलो आकारका कमिटीहरूको संचालनको समस्या ४. वैधानिक व्यवस्थाअनुरूप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या ५. संगठनात्मक अराजकता र गुटबन्दीको समस्या ६. गैरभौगोलिक क्षेत्रको कामको संयोजनको समस्या ७. पार्टी काम र कार्यकर्ताको मूल्यांकनको समस्या ८. वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या ९. पार्टी काममा दोहोरोपनको समस्या १०. काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या ११. परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या १२. जनसंगठनको प्रभावकारी परिचालनको समस्या १३. आदर्श र व्यवहारको बीचमा अन्तरविरोध ।
केन्द्रीय मुख्यालय भाडाको घरमा संचालन गर्नु राम्रो होइन
नेकपा एमालेले पार्टीको मुख्यालय बनाउनका लागि देशभरका नेता, कार्यकर्ताबाट सहयोग जुटाउने भएको छ । प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा भूकम्पको समयमा भत्किएको पार्टी कार्यालय अहिलेसम्म निर्माण नभएकाले पार्टीले छिटो भवन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टी कार्यालय भवन निर्माण गर्नका लागि देशभरका कार्यकर्ताको सहयोग जुटाउने नीति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘भाडाको घरबाट पार्टी कार्यालय चलाउनुपर्दा पार्टी कामको आवश्यकताअनुरूप ठाउँ उपलब्ध हुने अवस्था छैन’, प्रतिवेदनमा भनिएको छ, ‘देशका अधिकांश जिल्लाहरूमा पार्टी कार्यालय निर्माण गर्न सफल भएको पार्टीको केन्द्रीय कार्यालय भाडाको घरबाट लामो समयसम्म संचालन गर्नु राम्रो होइन । अब पार्टीले छिटोभन्दा छिटो आफ्नो कार्यालय भवन निर्माण गर्नुपर्छ ।’ आफ्नो कार्यालयको निर्माणका लागि कार्यकर्तामा उत्साह जागृत गर्नका लागि सहयोग जुटाउने नीति अवलम्बन गर्नु आवश्यक रहेको प्रतिवेदनमा बताइएको छ ।