सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ । पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्वअर्थमन्त्रीसमेत रहेका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गरेका हुन् । पार्टीको अति महत्वपूर्ण जिम्मेवारी अमारीलाई सुम्पिने निर्णय उनले बिहीबार गरेको पार्टी स्रोतले जनाएको छ । अहिले पार्टीको कर प्रणालीसम्बन्धी अनुसन्धान आयोगको प्रमुख रहनुभएका ७२ वर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ । पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ । जापानका पूर्वविदेशमन्त्रीसमेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेका थिए । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए । नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाएका हुन् । सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने घोषणा गरेका थिए ।– सिन्ह्वा