भोलिदेखि गोदावरीमा एमाले विधान महाधिवेशन सुरु हुँदै 

प्रतिनिधि आउने क्रम जारी, वितरण गरिएको झोलामा के छ ?
बिहीबार, असोज १४, २०७८

काठमाडौं ।  शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ ।
भोलि (शुक्रबार) देखि तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइरहेका हुन् । महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले अधिकांश प्रतिनिधि आइसकेको जानकारी दिए । ‘अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्’, उनले भने, ‘भोलि बिहानसम्म सबै प्रतिनिधि आइसक्नेछन् ।’  शुक्रबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १२ः१५ बजे महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यस्तै, प्रतिनिधिलाई उपलब्ध गराउने झोला आजैदेखि वितरण गर्न थालिएको उनले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालयमा नाम दर्ता गराएका प्रतिनिधिलाई आजैदेखि दस्तावेज वितरण पनि गरिएको छ ।  झोलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन रहेका छन् । यस्तै, झोलामा एमालेको मुखपत्र 'नवयुग'सहित कापी र कलम पनि रहेका छन् । प्रतिनिधिका लागि यस पटक आवासको व्यवस्था सम्बन्धित प्रदेश कमिटीले गरेको छ । प्रदेश कमिटीले सहभागी हुन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, ललितपुरलगायत विभिन्न स्थानका होटेलमा बासको व्यवस्थापन गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार