प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने 

बिहीबार, असोज १४, २०७८

काठमाडौँ । सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।  बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेताको सहभागिता रहने बताइएको छ । प्रधानमन्त्री द्ेउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी नहुने बताएको छ ।  नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु बैठकमा नजाने प्रतिक्रिया दिए ।  “पार्टी विभाजन गर्नका लागि संसद्लाई छलेर अध्यादेश ल्याउने र छलफल नगरी फिर्ता गर्ने,” उनले भने, “राति संसद् स्थगित हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ ।”
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार