अख्तियारको छापा प्रति मुख्यमन्त्री लालबाबु राउत रुष्ट 

भन्छन्, 'सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गराउने षड्यन्त्र भयो'
बुधबार, असोज १३, २०७८

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामार शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको आरोप लगाएका छन् ।  मुख्यमन्त्री राउतले अख्तियारको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए । उनले भने, “अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गर्नुभएको छ ।”  ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरीका आधारमा काठमाडौँ र बर्दिबासबाट खटिएको अख्तियारको संयुक्त टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापामारी कागजपत्र नियन्त्रणमा लिएर गएको छ ।
अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनको आयोजना गरी अख्तियारको शैलीको विरोध जनाएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, “जसरी अख्तियारको टोली आएर एक्कासि छापामार शैलीको प्रयोग गरे, त्यसबाट उनीहरूको नियत ठीक नभएको स्पष्ट देखिएको छ । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने यसभित्र जरुर कुनै रहस्य लुकेको हुनुपर्छ । पक्कै पनि यस घटनामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो घटना गराइएको हो ।” उनले छात्रालाई वितरण गरिएको साइकल कम्पनीबाटै र बजार मूल्यभन्दा सस्तोमा खरिद गरेको दाबीसमेत गरे । मुख्यमन्त्री राउतले भ्रष्टाचार र अनियमितताको समाचारमा कुनै किसिमको सत्यता नभएको र समाचार भ्रामक भएको दाबी गर्दै भने, “यो सबै प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षड्यन्त्र हो ।” 
प्रदेश सरकार आफैँले जनलोकपाल आयोग गठन गरेको भन्दै उनले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए ।
मुख्यमन्त्री राउतको कथन थियो, “मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँमा एउटा ‘स्टेट’को प्रमुखको कार्यालय हो । कुनै निकायलाई केही बुझ्नुपरेका फाइल अध्ययन गर्नुपरेमा माग्ने एउटा तरिका हुन्छ, सुशासनको सवालमा म आफैँ खुल्ला किताब हुँ ।” उनले साइकल खरिदमा कहीँ कतै अनियमितता भएको भए कारबाही गर्न आफू सहयोग गर्न तयार रहेको बताए । “तर, एउटा संस्थालाई नै बदनाम गराउने किसिमले अख्तियारले गरेको छापामारी सरासर गलत हो, यो सह्य हुनसक्दैन”, उनले भने।
आज दिउँसो आएको अख्तियारको टोलीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएकोसम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको छ । कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । प्रदेशका आठवटै जिल्लाका कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई वितरण गर्न मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २६२ थान साइकल खरिदमा झण्डै रु २९ करोड खर्च गरेकोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रवक्ता रिमालले बताए ।  प्रतिसाइकल भ्याटसहित रु छ हजार ४३२ का दरले वीरगञ्जको ओम सत्यसाई प्रालिबाट आपूर्ति गरेको हो । काठमाडौँका साइनो इन्टरनेशनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार