संसद् गतिरोध अन्त्यको उपाय खोज्न प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक 

बुधबार, असोज १३, २०७८

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए । सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले) ले सभामुखको कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार