सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । जर्मनीमा आइतबार सबेरैदेखि सङ्घीय संसद्का लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिने बताउनुभएको छ । अठसट्ठी वर्षीया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसक्नुभएको छ । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रीन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् । लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्वाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रूपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिरसमेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बिर देखाउन नसकेका बताउने गरिएको छ । नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संसद्को तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् । कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिनसक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहनसक्ने आँकलन पनि विश्लेषकहरूले गरेका छन् ।– एएफपी