सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खोजी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए । बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग गरेको थियो । नेकपा एकीकृत समाजवादी विरुद्धको मुद्दामा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकोले अध्यादेश निष्क्रिय पार्नु उपयुक्त हुने निष्कर्षमा गठबन्धनका नेताहरू पुगेका हुन् । बैठकमा सहभागि एक नेताले १र२ दिनमै सरकार विस्तार हुने दावी गरे । सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय यादवले जानकारी दिए । बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल भएको र छलफल भएका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति भएको थियो ।