थप पाँच जिल्लाका कांग्रेसका क्रियाशील सदस्यता सार्वजनिक

आइतबार, असोज १०, २०७८

काठमाडौँ  । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उनले बताए । करिब नौ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
क्रियाशील सदस्यताको बाँकी विवाद चाडै टुङ्ग्याएर दसँैअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ । 
कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । 
शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने बताएका हुन् । 
कांग्रेसका नेताबाट शिक्षकमाथि गालीगलौजका साथै मुद्दा हाली तारेख खेपाउन उद्दत देखिएकाले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई यथोचित कारवाहीको माग गरिएको छ । विगतदेखि नै देशका सबै जिल्लामा शिक्षक क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित हुँदै आएको र सोही अनुसार जिल्लामा समेत निर्वाचित भएको भन्दै शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को (छ) ले समेत कार्यकारिणी पदबाहेकमा बन्देज नगरेको दाबी गरिएको छ ।

क्षेत्रीय प्रतिनिधि कार्यकारिणी नभए पनि निम्छारो शब्द प्रयोग गरी आम शिक्षकको मानमर्दन हुने गरी पेशागत मर्यादालाई नजर अन्दाज गरिएको विज्ञप्तिमा उल्लेख छ । जिल्लाबाट करिब ३० जना शिक्षक तथा निजामती कर्मचारी क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । तीमध्ये रिट परेका पाँच जना प्रतिनिधिविरुद्ध उच्च अदालत विटराटनगर अस्थायी इजलास ओखलढुङ्गाले शुक्रबार अल्पकालीन आदेश जारी गर्दै राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नगर्न नगराउन भनेको छ । 

जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ मिलन बस्नेतद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायधीश ठाकुरप्रसाद शर्मा पौडेलको इजलाशले अल्पकालीन आदेश जारी गरेको हो । जिल्लाभरि चार शिक्षक र एक निजामती कर्मचारी मात्रै क्षेत्रीय प्रतिनिधि नभइ करिब ३० भन्दा बढी निर्वाचित भएका सन्दर्भमा अदालतको आदेशपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ । 

पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ ।

जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ ।
रामपुर नगर कार्यसमितिको सभापतिमा पुनस् नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी भएका हुन । उनका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गरे । 
नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्ी र ज्ञानप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । मश्राङ्ीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गरेका थिए । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरिप्रसाद न्यौपानेले ५२ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिए । 
सचिवमा चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नुभएको छ । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन भएका छन् । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गरेका थिए । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ । 
 रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मतसहित विजयी भए भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरे । र्नुभएको छ । बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पूर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिएका छन् । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने नगर अधिवेशन स्थगित गरिएको छ । 
तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सक्ने स्रोतको दाबी छ । दुईजना आकाङक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ । शनिबार भएको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवा पुस्ताको वर्चस्व छ । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार