राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका ब्राजिलका प्रतिनिधिमण्डल धमाधम कोरोना संक्रमित 

स्वास्थ्यमन्त्रीपछि राष्ट्रपतिका छोरा पनि कोरोना सङ्क्रमित
शनिबार, असोज ९, २०७८

ब्राजिलिया । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको जानकारी दिएका हुन् ।  संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उहाँ तेस्रो सङ्क्रमित हुन् ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् । उनले आफैँले आफैं लाई हेरविचार गरिरहेको पनि बताएका छन् ।   यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थित एक होटलमा एकान्तवासमा बसेका छन् ।   त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् । अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल हुनुभएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहनु भएका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गर्नु भएको थिएन भने खोप पनि लगाउनु भएको थिएन । महासभाको बेलाका उनका फोटोमा पनि उनले मास्क नलगाएको देखिएका थिए ।  महासभामा उनले कोरोनाभाइरस, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राखेका थिए ।  उनले कोरोनाभाइरसलाई सामान्य ज्वरोका रुपमा व्याख्या गर्नु भएको थियो भने मास्क र खोपको आवश्यकता नरहेको जिकिर गरेको थिए ।  राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफु सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिएका थिए । उनकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाएकी थिइन् ।  “खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भने। 
कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् ।–एएफपी 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार