भारतीय प्रधानमन्त्री मोदीले दिए अमेरिकी राष्ट्रपति वाइडनलाई भारत भ्रमणको निम्तो

शनिबार, असोज ९, २०७८

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा दिएका हुन् ।  गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरु बीच पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको हो ।  संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनीहरु बीच भेटवार्ता भएको हो ।   प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उनीहरुका बीच पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ । 

“प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिनुभएको छ,” वक्तव्यमा लेखिएको छ । 
भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनीहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गरेको जानकारी दिए ।  प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । 
उनीहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उनले बताए । 
प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ । बुधवार अमेरिका आएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  उनले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई शनिबार सम्वोधन गर्ने तालिका छ । 
तीन दिने अमेरिका भ्रमणका क्रममा मोदीले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । 
प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने अधिकारीले जनाएका छन् ।–एएनआई 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार