सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको पालिका अधिवेशन भोलिदेखिती जिल्लामा दशैँ अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन् । हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याएर वडा अधिवेशन प्रारम्भ गर्ने सहमति भएको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको केही विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा
नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए । “थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएको कारण दक्षिणकाली नगरपालिका–२ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वडा अधिवेशन पुनःगराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ”, प्रमुख निर्वाचन अधिकृत आचार्यले भने । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।
कर्णालीका अधिकांश वडामा सर्वसम्मत
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ । दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कार्यसमितति चयन भएका वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । वडामा सर्वसम्मतरुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन् । दैलेखका पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मीलगायतका नेता जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेका छन् । जुम्लाका करिव सबै वडामा पनि सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ । जिल्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका–७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो । वडामा सर्वसम्मत पदाधिकारी छनौट भएपनि जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने अवस्था आउने कांग्रेस नेताको भनाइ छ । जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललगायतका नेता आकाङ्क्षी देखिन्छन् । हुम्लाका पनि करिव सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसैगरी सल्यान, कालिकोट र रुकुमपश्चिममा पनि वडा तहमा करिव सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन । कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ । प्रदेशका अधिकांश वडामा सर्वसम्मत नेतृत्व छनौट भएतापनि नगर र जिल्लामा भने चुनाव हुनसक्ने सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत नगरसभापतिका आकाङ्क्षीसमेत रहेका किरण वली बताउँछन् । “नगरका सबै वडामा सर्वसम्मत नेतृत्व छनौटको लागि तयारी भइसकेको छ”, उनले भन्नुभयो, “नगर र जिल्लामा भने आकाङ्क्षी धेरै भएको हुँदा चुनाव हुने सङ्केत देखिएको छ ।” अव पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षी आफ्ना प्रतिनिधि भेट्मा व्यस्त छन् ।