भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता

शुक्रबार, असोज ८, २०७८

अमेरिका । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् ।
वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति आ–आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो । 
सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई–अहमदाबाद हाई स्पीड रेल (PRC)  परियोजनाको सुरुआत् र समयमै यसको कार्यान्वयनका लागि आ–आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनु भएको छ । 
दुई नेताबीचको बैठक क्वाडको पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ । विदेश मन्त्रालयका अनुसार उहाँहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ ।
दुई प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरूबीच तीन पटक टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री मोदीले भारत–जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसीपमा पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन् । 
प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीकाबीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा  प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाईसमेत व्यक्त गरेका छन् । 
सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको बढ्दो आर्थिक संलग्नताको स्वागत गरेका थिए । 
यस वर्षको सुरुमा भारत, जापान र अष्ट्रेलियाबीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको उनीहरुले स्वागत गरेका छन् । 
उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुईपक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिएका थिए ।  
जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभएको जानकारी अनुसार यस वर्षको सुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को सुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ । 
दुई प्रधानमन्त्रीबीच कोभिड–१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल  केन्द्रित भएको छ । उनीहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्वलाई जोड दिँदै यस विषयमा भारत–जापान डिजिटल पार्टनरसीपमा विशेष गरी स्टार्ट–अपमा भएको प्रगतिको सकारात्मक मूल्याङ्कन पनि गरेका थिए ।
त्यसैगरी दुई नेताबीच विभिन्न उदियमान  प्रविधिमा थप सहयोग बढाउनेबारे विचार आदानप्रदान भएको छ । जलवायु परिवर्तनका मुद्दा,  हरित ऊर्जा सङ्क्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिसनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ । दुई नेताले भारत–जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनामा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाको समेत उल्लेख गर्नुभएको छ । –एएनआई
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार