भारतीय प्रधानमन्त्री मोदीे अमेरिका भ्रमणमा  

बुधबार, असोज ६, २०७८

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने उनको कार्यक्रम रहेको छ । साथै मोदीले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने छन् ।  आगामी सेप्टेम्बर २४का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता हुने जनाइएको छ ।  गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेनले सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक भौतिकरुपमा भेटवार्ता हुनलागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।   प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशबीचमा अझै बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ ।  प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नु हुनेछ । प्र्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिने कार्यतालिका रहेको छ । सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी हुने छन् ।  प्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभा (युएनजीए)को ७६औं सत्रलाई सम्बोधन गर्नेछन् ।
 
राष्ट्रसङ्घको महासभामा सहभागी हुँदा ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित 

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि उहाँलाई सङ्क्रमण पुष्टि भएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसङ्घको महासभामा सहभागी भएको हो । टोलीमा सहभागी अन्य सदस्यको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीले जनाएका छन् । ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित हुनुभएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । राष्ट्रसङ्घको महासभामा सहभागी भएर फर्किएका मध्येसङ्क्रमित हुनेमा उनी दोस्रो व्यक्ति भएका छन् । सङ्क्रमित ५५ वर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बस्नु भएको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् । राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिएका र उनले अहिलेसम्म खोप पनि लगाएको अधिकारीले जनाएका छन् ।  स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहेका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शीर्ष नेतासँग पनि भेटवार्ता गरेका थिए । तर अहिलेसम्म पनि उनीहरुलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।– एएफपी
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार