सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाबिहीन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडि काम चलाउ सरकार बनाएको तालिबानले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यता अनुरुप महिलालाई मन्त्रिपरिषद्मा सहभागी नबनाएको बताइएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री जाबिहुल्लाह मुजाहिद्धिनले भने पछाडि पारिएको वर्ग तथा समूदायको सहभागीतालाई ध्यान दिएर मन्त्रिपरिषद् विस्तार गरिएको दाबी गरे । विस्तारित मन्त्रिपरिषद्मा हाजी नुरुद्धिन अजिजि कार्यबाहक अर्थमन्त्री, हजि मोहम्मद बशिर अर्थ उपमन्त्री, क्वालान्डर एबाड कार्यबहाक जनस्वास्थ्य मन्त्री, अब्दुल्बारी ओमर जनस्वास्थ्य उपमन्त्रीलगायत रहेका छन् । सार्वजनिक भएको मन्त्रीको सूचीमा एक जना पनि महिलाको नाम छैन । मन्त्रिपरिषद्मा अहिले ३३ जना रहेका छन् । मन्त्रिपरिषद्मा महिला सहभागीताको बारेमा सोधिएको प्रश्नमा मन्त्री मुजाहिद्धिनले महिलाको विषयमा अहिलेको मन्त्रिपरिषद्ले नै उच्च प्राथमिकताका साथ काम गर्ने दाबी गरे । महिलाका सबै माग र बालिकाको शिक्षाका बारेसमेतमा अहिलेको काम चलाउन सरकारले नै काम गर्ने उनको भनाइ थियो । ‘हामीले नै महिलाका माग र उनीहरुको शिक्षाका बारेमा पर्याप्त काम गर्नेछौँ,’ पत्रकारसँग उनले भने । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि महिला अधिकार कुण्ठीत गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला विस्तारित मन्त्रिपरिषद् पनि महिला विहिन भएको हो । महिला र शिक्षा अधिकारलगायत आधारभूत अधिकार तथा स्वतन्त्रता कुण्ठीत भएमा अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने र सहयोग नगर्ने अन्तरराष्ट्रिय समुदाय र विभिन्न देशले चेतावनी दिँदै आएका छन् । मन्त्री मुजाहिद्धिनले भने आफ्नो सरकारलाई अन्तरराष्ट्रिय समुदायले पनि स्विकार गर्दै सहयोग र सहकार्य आदानप्रदान हुने विश्वास व्यक्त गरे । उनले देशभित्रको आन्तरिक आवश्यकता पूरा गर्न आन्तरिक अर्थतन्त्रले थेग्न सक्ने दाबी पनि गरे ।
जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए
पूर्वीअफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो । रिक्शामा आएका अज्ञात बन्दुकधारीले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् । जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयाँै आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणमा परी कम्तीमा दुई व्यक्तिको मृत्य्ु पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ । आइएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् ।–एएनआई