सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । खड्काले आफ्नो अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा नरहने बताएका छन् । उनले भने, ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’ उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
को हुन् परराष्ट्रमन्त्री नारायण खड्का?
विसं २०२३ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका डा.नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार रहेका उनी २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका काम गरेका थिए । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए त्यस समयमा उनी सहरी विकास मन्त्री थिए । साथै २०७४ सालमा पनि सोही स्थानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पाँचपटक जेल परेका थिए । उनले भारतबाट अर्थशास्त्रमा विद्यावारीधि (Ph.D.) गरेका थिए । २०२३ साल देखी नै नेपाली कांग्रेसमा लागेका उनी नेपाली कांग्रेसको प्रभावशाली रूपमा आफ्नो पहिचार स्थापित गरेका छन् । उनी २०७८ साल असोज ६ देखी परराष्ट्रमन्त्री बनेका छन् ।
राष्ट्रसङ्घीय महासभामा भाग लिन परराष्ट्रमन्त्री अमेरिका जाँदै
परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति न्युयोर्क प्रस्थान गर्दै छन् । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएका उच्चस्तरीय बैठकमा भाग लिन मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गर्न लागेको हो । मन्त्री खड्काले यही असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आशाको माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने विषयमा उनले सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल शाखा अधिकृत भरतराज खनाल नेपालबाट न्युयोर्क प्रस्थान गर्दै छन् भने संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, त्यहाँस्थित नेपाली महावाणिज्यदूतावास र स्थायी नियोगका अधिकारीहरू न्युयोर्कबाट प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने उक्त मन्त्रालयले जनाएको छ ।