सोसल मिडिया
Contact Us
युनिकोड
टोरन्टो । क्यानाडामा सोमबार सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिए पनि सरकार निर्माणका लागि आवश्यक बहुमत सिट जित्न भने असफल भएको छ । संसद्को पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्वाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका छन् । लिबरल पार्टीले अन्य दलकोभन्दा बढी सिट जितेको छ । ४९ वर्षीय ट्रुडोले आफ्नो पिता लिबरल आइकन र स्वर्गीय प्रधानमन्त्री पियरे ट्रुडोको ख्याती र आफ्नो कार्यकालमा गरेका कामहरूलाई निर्वाचनमा बहुमत ल्याउने आधारसहित मध्य अवधिमा नै निर्वाचनको घोषणा गरेका थिए । उनले सन् २०१५ मा पहिलो पटक चुनाव जितेका थिए । उनले आफ्नो पार्टीलाई दुई निर्वाचनमा नेतृत्व गरेका थिए । ट्रुडोका लिबरल्स सदस्यले सन् २०१९ मा जितेको भन्दा एक सिट कम अर्थात् १५६ सिटमा अग्रता वा निर्वाचित भएका छन् । अग्रता कायम गरेका सबै स्थानमा जितेमा पनि यो सङ्ख्या हाउस अफ कमन्समा बहुमतका लागि आवश्यक १७० मध्ये १४ सीटले कमी हुनेछ । कन्जरभेटिभ पार्टीका सदस्यले १२१ सिटमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । सन् २०१९ मा उनीहरूले जितेको सङ्ख्या पनि यही हो । यहाँको वामपन्थी न्यू डेमोक्र्याट पार्टीका सदस्यले २७ स्थानमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । वामपन्थी दललाई पहिलेभन्दा तीन सिटको लाभ मिल्ने देखिएको छ ।– पीटीआई