भारतले कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने

बुधबार, असोज ६, २०७८

नयाँ दिल्ली । भारतले कोभिड–१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने भएको छ । यसवर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो ।  स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मन्सुख माण्डभियाले चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्ने जानकारी दिए । 
यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्सअन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उनले बताए ।  “‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौँ र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौँ,” माण्डभियाले संवाददातासँग भने । अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ । 
स्वास्थ्यमन्त्रीले यसवर्षको चौथो त्रैमासको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुनेछन् । 
भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।  
तथ्याङ्कअनुसार एक करोड तीन लाख ६९ हजार ३८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार १०७ जनाले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउने अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार ५९३ जनाले खोपका दुवै मात्रा लगाइसकेका छन् । 
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गरेका छन् । विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्वपूर्ण हुने उनले बताए । 
स्वामीनाथनले ट्वीटमार्फत सम्प्रेषित सन्देशमा भनेका छन्, “कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ । विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्वपूर्ण हुनेछ ।”– एएनएआई 
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार