महान खेलाडीका राजनीतिक डेब्यु : इमरान खान बिर्साउने पाक्वीयोको उदय

मंगलबार, असोज ५, २०७८
खेलकुद र राजनीतिको सम्बन्ध संसारमै छ । राजनीतिक नीतिका कारण जसरी त्यो देशको सबै पक्षलाई असर गर्छ, त्यसैगरी खेलकुदलाई पनि निःसन्देह असर गर्छ नै । खेलकर्मी राजनीतिमा प्रवेश गर्दा सफल या असफल दुईवटै सम्भावना छन् । 

राजनीतिलाई असर गर्ने त्यस समाजका अन्तर्निहित वस्तुहरूको कम जानकारी भएका कारण कतिपय असफल भएका छन् भने आफ्नो लक्ष्यमा अडिग रहने बानीका कारण स्टार खेलाडी राजनीतिमा सफल भएका उदाहरण पनि छन् । राजनीतिमा लागेका संसारका स्टार खेल व्यक्तित्वका विशेषता के हो भने उनीहरूले सधैँ परम्परागत बाटोमा मात्र यात्रा गरेनन् । आवश्यक समयमा आफैले नयाँ बाटो बनाउने जाँगर पनि देखाए  । 

संसारका कतिपय देशका स्टार खेलाडी भनिनेहरू राजनीतिक नेतासँग सम्पर्क बढाउनकै लागि मेहनत गर्ने र चाटुकारिता गर्ने प्रचलन नभएको होइन । यसको विपरीत धेरै देशमा स्टार खेल व्यक्तित्व राजनीतिक नेतृत्वमा पुगेका छन् । अन्य राजनीतिक व्यक्तित्वभन्दा दृढ, योजनामा प्रस्ट र इमानदार छवि भएका कारण ती व्यक्तित्व लोकप्रिय पनि छन् ।
 
यसरी सफल हुने खेलाडीको पहिलो सूचीमा पाकिस्तानका पूर्वविश्वकप विजयी क्रिकेट टोलीका कप्तान इमरान खान हुन् । सम्भवतः खेलकुद र राजनीतिमा उत्तिकै सफलता पाउने उनी संसारका बिरलै व्यक्तिमा पर्छन् ।
 
खेलकर्मी राजनीतिमा प्रवेश गर्ने क्रम भारतमा अझ बढी छ । १९८३ को विश्वकप विजयी क्रिकेट टोलीका सदस्य कीर्ति आजाद अहिले राजनीतिमा सक्रिय छन् । कीर्ति आजाद भारतमा भएको एउटा विद्रोहको कारण अहिले पनि चर्चामा छन् ।

उनी आफ्ना बाबु विहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादको पथलाई पछ्याउँदै राजनीतिमा प्रवेश गरेका उनी भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध भए । भारतीय स्वतन्त्रता संग्रामका योद्धा हुनुका साथै विहारमा अत्यन्त लोकप्रिय रहेका कारण छोरा कीर्तिमा पनि यसको प्रभाव थियो । 

विहारको दरभंगाबाट २०१४ मा दोस्रो पटक लोकसभामा निर्वाचित उनी दिल्ली क्रिकेट बोर्ड र दिल्ली क्रिकेट एसोसिएसनमा आर्थिक हिनामिना गरेको आरोपमा अर्थमन्त्री अरुण जेटलीमाथि आक्रामक थिए । यसैकारण भाजपाले उनलाई कारबाही गरेको थियो । 

२०१९ मा उनी भाजपा छाडेर भारतीय राष्ट्रिय कांग्रसबाट उम्मेदवार भएका थिए । निर्वाचनमा उनी पराजित भए । सांसदमा त उनी पराजित भए, तर भारतीय क्रिकेटमा उनले उठाएको भ्रस्टाचार विरोधी अभियानमा कारण धेरैले अहिले पनि सम्झने गरेका छन् । 

सन् २००४ का ओलम्पिक पदक विजेता भारतका सुटर राज्य बर्धन राठौर पनि अहिले राजनीतिमा सक्रिय छन् । सन् २०१४ मा राजनीतिमा सक्रिय उनी भाजपामा आबद्ध छन् । यस दलबाट सञ्चार राज्यमन्त्री साथै खेलकुद मन्त्री हुन उनी सफल भए । 

सेवास्टिन को कुनै समयमा चर्चित धावक थिए । ८० को दशकमा ओलम्पिक कीर्तिमान राख्न सफल धावक राजनीतिमा प्रवेशसँगै सांसद तथा ब्रिटिस ओलम्पिक कमिटीका अध्यक्ष भए । कोले सन् २०१८ मा बेलायतमा विश्वकप आयोजनाको अवसर दिलाउन प्रयास गरेका थिए । सो प्रयास सफल भएन । 

सन् १९९५ मा जर्ज वेले फिफा वर्ल्ड प्लेयर अफ द इयर तथा बालोन डी अवार अवार्ड जिते । यो सफलता पाउने उनी एक मात्र अफ्रिकी खेलाडी हुन् । फुटबलबाट संन्यास लिएपछि उनी आफैले दल स्थापना गरे । लाइबेरियामा प्रजातन्त्रको अगुवाइ गर्ने सो दल सुरुका दुई निर्वाचनमा पराजित भए पनि २०१७ पछि जर्ज वे राष्ट्रपतिमा निर्वाचित भए । 

गेरी कास्पारोभ संसारकै चर्चित चेस खेलाडी हुन् । उनले चेस खेलबाट संन्यास लिएपछि सन् २००५ मा युनाइटेड सिभिल फन्ट स्थापना गरेका थिए । यो फन्टको उद्देश्य देशको नेतृत्व गर्ने थियो । सन् २००८ मा राष्ट्रपतिको उम्मेदवार हुने तयारी गरेका उनले पछि सो दौड त्यागे । सन् २०१४ मा क्रोएसियाली नागरिक बनेका उनी अहिले मानव अधिकारवादी संगठनको प्रमुख छन् । 

मुक्केबाज पाक्वीयोकाे लोभलाग्दो डेब्यु

बहुमुखी प्रतिभाका धनी  फिलिपिन्सका स्टार मुक्केबाज मेनी पाक्वीयोले आसन्न निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । उनले सत्तारुढ दल पिडीपी लडानबाट उम्मेदवार हुने तयारी गरेका हुन् । 

४२ वर्षीय पिक्वीयो अहिले संसद् सदस्य छन् । आश्चर्यजनक त सत्तारुढ दलले वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरेट उपराष्ट्रपति रहने घोषणा गरेको छ । 

पाक्वीयोको दलभित्र क्रिस्टोफर बंगसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर बंगले आफू डुटेरेटको उत्तराधिकारी हुने कुरालाई अस्वीकार गरे । दलले भने उनलाई निर्णयमा पुनर्विचार गर्न भनेको थियो । वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटरेट अर्को प्रत्यासीको रूपमा छिन् ।
 
मुक्केबाजको रूपमा पाक्वीयो भिन्न आठ तौल समूहमा विश्व च्याम्पियन भएका थिए । उनको पछिल्लो हार क्युबाका प्रतिद्वन्द्वीसँग भएको थियो । उनले आफूले संन्यासको बारे सोचेको हारपछि नै बताएका थिए । २० सेप्टेम्बरमा उनले संन्यासको घोषणा पनि गरे । 

उनले रिङभित्र र रिङ बाहिर कहीँ पनि आफू फाइटरको रूपमा रहने प्रतिक्रिया दिएका छन् । उनले गरिबी र भ्रष्टाचारलाई आफ्नो चुनावी मुद्दा बनाएका छन् । गरिबीको पीडामाझ उत्कृष्ट बनेका पाक्वीयोको बाल्यकाल त्यत्तिकै कहालीलाग्दो थियो भने युवा अवस्था सनसनीपूर्ण सफलताले भरिएको थियो ।  

पाक्वीयो २०१६ देखि संसद् सदस्य रहे । सन् १९९०, २०००,२०१० र २०२० को दशकमा विश्व च्याम्पियनको ताज आफूसँग राख्नु तथा फ्लाइवेट, फेदरवेट, लाइटवेट र वेल्टरवेटमै च्याम्पियन हुनु दुर्लभ कीर्तिमान उनको नाममा छ । पाक्वीयो यति धेरै बहुमुखी प्रतिभाका खानी हुन् की २०१४ देखि २०१७ को बीचमा उनी फिलिपिन्स बास्केटबल एसोसिएसन (पिबीए) टोली किया महिन्द्राका खेलाडी तथा टोली कप्तान थिए । उनैले सेमी व्यावसायिक बास्केटबल लिगको रूपमा केइथ थुमारानको स्थापना गरेका थिए । 

फिल्म अभिनेता उनी टेलिसिरियलमा पनि संलग्न थिए । संगीतमा समेत रमाउने उनी आफै संलग्न भएर गीति एल्बम पनि प्रकाशित गरेका छन् । संघर्षका प्रतीक यी खेलाडीले बाल्यकालको दुःख भने कहालीलाग्दो  छ । 

उनी ६ कक्षाको विद्यार्थी हुँदा बाबु र आमाको सम्बन्ध विच्छेद भएको थियो । कुकदीनानका बासिन्दा उनी १४ वर्षको उमेरमा राजधानी मनिलामा पुगेका थिए । मनिलामा सडक बालकको रूपमा रहेका उनी मजदुरी गर्न थाले । यसैबाट उनले आफ्नो भोक टार्ने र केही रकम आमालाई पठाउने गर्थे । विद्यालयमा प्राथमिक अध्ययन गरेका उनले गरिबीका कारण माथिल्लो तह त्यागेका थिए । 

बक्सिङ खेलाडी भएर पैसाको आर्जन गरे पछि फेरि पढेका उनले २००७ मा विद्यालय तह पूरा गरेका थिए । १५ वर्षको उमेरमा एमच्योर बक्सिङ खेल्न थालेका उनले १६ वर्षको उमेरमा प्रोफेसनल बक्सिङ खेल्न सुरु गरेका थिए । 

उनले  उत्कृष्ट मुक्केबाज हुनुका कारण नै आफ्नो गरिबी भएको बताउँछन् । गरिबीका कारण अन्य विकल्प नभएको तथा आफ्नो परिवार पाल्न कठोर मेहनत गर्न परेको बताउँछन् । 
१९ वर्षको उमेरमा उनले फ्लाइवेटको डब्लुवीसी उपाधि जितेका थिए । उनले आफ्नो सनसनीपूर्ण खेल जीवनमा २२ जना विश्व च्याम्पियनलाई पराजित गरे । २०२१ को अगस्टमा योडेनीस उगाससँग भिडन्त उनको अन्तिम भिडन्तको रूपमा रह्यो । 

बक्सिङ राइटर एसोसिएसन अफ अमेरिका, विश्व बक्सिङ काउन्सिल र विश्व बक्सिङ अर्गनाइजेसनले उनलाई २०२० मा दशकको फाइटरको रूपमा सम्मानित गरेको थियो । सन् २००६,२००८ र २००९ मा उनलाई इएसपिएनले वर्षको मुक्केबाज घोषणा गरेको थियो । इएसपिएनले नै उनलाई पछिल्लो २५ वर्षमा दोस्रो उत्कृष्ट तथा सर्व कालीन पाँचौँ उत्कृष्ट व्यावसायिक मुक्केबाजको रूपमा सूचीकृत गरेको थियो । 

इमरान, खान, जर्ज वे, कास्पारोभ संसारका धेरेका लागि आदर्श हुन् । राजनीतिमा यिनको सफलता संसारका खेलकर्मीका लागि सानको विषय हो । पाक्वीयोको जीवन त धेरैका लागि प्रेरणाको स्रोत हो । तिनै पाक्वीयोको चुनावी परिणाम यतिबेला धेरैका लागि चासोको विषय बनेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार