सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा । नेपाली काँग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको छ । यही असोज ९ गते गाउँ तथा नगर अधिवेशनको तयारी छ । त्यसका लागि उम्मेदवार बन्ने र घोषणा गर्ने होड चलिरहेको छ । यस अधिवेशनबाट जिल्लामा १० पालिकाका १० सभापतिसहित पदाधिकारी चयन हुनेछन् । हरेक उम्मेदवारीमा सदरमुकाम आइपुग्ने धेरै नेता तथा कार्यकर्ता वडा तहको अधिवेशनले खपत हुने सम्भावना छ । त्यसपछि सुरु हुने क्षेत्रीय अधिवेशनमा पनि प्रदेश क्षेत्रका चार र सङ्घ क्षेत्रका दुई गरी छ जना सभापतिसहित पदाधिकारी, महाधिवेशन प्रतिनिधिसमेत हुनेछन् । अन्त्यमा जिल्लामा सभापतिसहित पदाधिकारीका लागि आइपुग्दा धेरै कार्यकर्ताले अवसर पाइसकेका हुनेछन् । त्यसले काँग्रेस कार्यकर्ताको ठाउँ र योग्यताअनुसारको पदस्थापन हुने सम्भावना बढेको छ । सङ्घीयतापछिको पहिलो अधिवेशन भएकाले केही नौलो, अलमल र ढिलाइ भए पनि यस अधिवेशनले काँग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको कार्यकर्ता बताउँछन् । “अब धेरै मानिसले अवसर पनि पाउँछन्, काँग्रेस चलायमान पनि हुन्छ”, काँग्रेस कोषाध्यक्ष उमेश गौतमले भने, “अवसर पाएपछि कसले के काम गर्न सक्छ भन्ने देखाउनेबेला पनि हुनेछ ।”
सभापतिको उम्मेदवारी घोषणा गर्नेक्रम सुरु
आसन्न अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाको सभापति तथा पदाधिकारीको उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ । नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्माले नेपाली काँग्रेस बागलुङ नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । नेपाल तरुणदलको नेतृत्व सम्हाल्नुभएका शर्माले भ्रातृ सङ्गठन हुँदै पार्टीको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए । जैमिनी नगरपालिकामा हालकै सभापति काशीराम आचार्यले फेरि उम्मेदवारी घोषणा गरेका छन् । सभापतिकै लागि विद्यार्थी नेता विष्णुराज पौडेल र प्रेमप्रसाद सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका छन् । युवा नेता पुरण श्रीष र पूर्वशिक्षक तथा अहिले वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको पनि उम्मेदवारी घोषणा भएको छ । केही पुराना र केही युवा नेताको सभापतिमा रसाकस्सी छ । युवाले पनि दाबी गरेकाले काँग्रेस राजनीतिमा नयाँ तरङ्गसमेत देखिएको छ ।
गलकोट नगरपालिकामा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वडा नं ३ का अध्यक्ष तथा हालका नगर सचिवसमेत रहनुभएका युवा नेता वीरजंग भण्डारी र वडा नंं ५ का अध्यक्ष नारायणध्वज मल्लले उम्मेदवारी घोषणा गरेका छन् । भण्डारी युवा हुन् भने मल्ल पाको उमेरका नेता हुन् ।
ढोरपाटन नगरपालिकामा भने सार्वजनिकरुपमा उम्मेदवारी घोषणा गरिएको छैन । गाउँपालिकातर्फ पनि कार्यकर्ताले उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । क्षेत्रीय सभापतिमा पनि केही उम्मेदवार देखिन थालेका छन् । बागलुङ क्षेत्र नंं १ तर्फ खड्ग थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । युवा नेता थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । क्षेत्र नं २ मा गण्डकी थापा, जोकलाल बुढालगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनले युवामा जागरण र पाको पुस्तामा नेतृत्व पाउने चुनौती थपिएको काँग्रेस वृत्तमा चर्चा छ ।