सोसल मिडिया
Contact Us
युनिकोड
सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका छन् ।
सत्तारुढ दलले दिएको सुझाव बिपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।
‘सत्तारुढदलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नु भएको छैन्,’ नेम्वाङले न्युज कारखानासँग भने, ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’
उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति एमाले आक्रोसित हँदै आएको छ।
सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्तको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त राख्दै संसद अवरोध गरिरहेको छ ।
सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेको बेलामा विनियोजन विधेयकलाई नारावाजीको बीचमा नै अघि बढाइएको थियो । जसको सशक्त विरोध आज पनि जारी रहने नेम्वाङले जानकारी दिए ।
अर्थतन्त्र ‘सट डाउन’ भएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी
इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ ।
प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच संसद चलाउँदै आएको अवस्थामा प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका बारेमा छलफल चलाउने भन्दै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने सम्भावना छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको देखिएको हो । एमालेले भने आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ ।