छिट्टै सरकारमा जान्छौँ : माधव नेपाल

गण्डकी प्रदेश कार्यालय उद्घाटन
सोमबार, असोज ४, २०७८

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल यसै साता सरकारमा सहभागी हुने बताएको छन् । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आइतबार पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिएका हुन् ।
अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पारे । उनले भने, “विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहो¥याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।”
अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भने, “असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे ।  हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।”
प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए ।
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए ।
“संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ”, अध्यक्ष नेपालले स्पष्ट पारे ।
कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेश कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गरे । उनले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गरे ।
मासिक रु ६० हजार तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।
तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ ।
कार्यालय उद्घाटनपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्नेमा जोड दिए ।
कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भनाइ अध्यक्ष नेपालको छ ।
नेकपा (एकीकृत समाजवादी)ले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो । पार्टीका जिल्ला अध्यक्ष आचार्यले जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिए ।
जिल्ला कमिटी १८५ सदस्यीय र महानगर कमिटी १४१ सदस्यीय रहेको बताइन्छ । यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्सलगायत जनवर्गीय सङ्गठनको जिल्ला कमिटी गठन गरिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार