किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

सोमबार, असोज ४, २०७८

काबुल । अफगानिस्तानका पूर्वसरकारी शान्ति वार्ता प्रतिनिधिमण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् ।
अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नुपर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएकी छन् ।
उनले भपिन, “तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले आफ्ना प्रतिज्ञाहरू पूरा गरिरहेको देखिएको छैन ।” यसैबीच संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ तर त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ ।
“हामी निकै चिन्तित छौँ,” युनिसेफकी प्रमुख हेन्रिता फोरले एक वक्तव्यमा भनेकी छन् । धेरै केटीहरूलाई यस समयमा फेरि अनुमति नहुन सक्छ ।” फोरले भनेकी छन्, “युनिसेफले पुरानो र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका दबाब जारी राख्नेछ जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्णरूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून् ।”

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई छ महिना थप गर्ने    

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ ।
गत महिना तालिबानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिसनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताए ।
अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरूको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले बताए ।  मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसङ्ख्यकसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसङ्घले जनाएको छ ।– एएनआई

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार