संविधान दिवसमा लोसपाको विरोध प्रदर्शन, जसपा मौन

आइतबार, असोज ३, २०७८
जनकपुरधाम : देशभरि ३ असोजमा संविधान दिवस मनाइरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने आज संविधान दिवसलाई कालो दिनका रूपमा लिएको छ ।

मधेसी जनताको हक, अधिकार तथा भावनाविपरीत आएको संविधान संशोधन नभएसम्म लोसपाले संविधान दिवसलाई अवसरमा कालो दिनका रूपमा लिने निर्णय गरेको छ । मधेसी जनताको रक्तपातबाटर आएको संविधान आफूहरूलाई मान्य नहुने भन्दै लोसपाले आइतबार मधेसका जिल्लाहरूका सदुरमुकाममा प्रदर्शन गरेको छ । लोसपाका नेता तथा कार्यकताहरूले ‘आशिन तीन कारी दिन’ लेखिएका ब्यानरसहित जनकपुर बजारमा प्रदर्शन गरेका छन् ।

स्थानीय जनकचोकबाट निकालिएको विरोध जुलुस शिवचोक, भानुचोक, कमदचोक, शिवचोक हुदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा लोसपाका नेताहरूले संविधानलाई संशोधन गरी मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका सामुदायलाई जनसंख्या र समावेशी अधिकार संविधानमा सुनिश्चत नभएसम्म आफूहरूले यस संविधानलाई स्वीकार नगर्ने धारणा राखेका थिए ।

यता,  प्रदेश २  सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । संविधानभित्रै रहेर सरकारको नेतृत्व गरिरहेको तर त्यसभित्र रहेका त्रुटिहरू नसच्चिएसम्म संविधान दिवस नमनाउने जसपाका नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार