सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना भाइरसविरुद्ध खोप विकासमा ‘कोशेढुङगा’ भनिएको नतिजा कोभिड–१९ को प्रभावकारी खोपको खोजमा महत्वपूर्ण कदम बनेको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा यसले ९० प्रतिशत मानिसलाई जोगाउने देखिएको छ । तेस्रो चरणको परीक्षणको तथ्याङ्क सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो समूह बनेको छ । परीक्षणमा रहेका केही खोपहरू असफल पनि हुने भएकाले यो खोप विकासमा महत्वपूर्ण अवस्था हो । फाइजर र बायोएनटेकको खोपमा प्रयोगात्मक प्रक्रिया अपनाएर मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ । सो खोप ४३ हजारभन्दा बढी व्यक्तिमा परीक्षण गरिएको र कुनै सुरक्षासम्बन्धी जोखिमको कुरा नउठेको बताइएको छ । खोप कहिले उपलब्ध हुन्छ ? फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्न सक्ने बताएको छ । धेरै विज्ञहरूले यो खोप सन् २०२१ को मध्यतिर मात्रै सहजै उपलब्ध हुनसक्ने अवस्था बन्ने आकलन गरेका छन् । अरू कुन खोप विकास भइरहेको छ ? आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङकहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । अन्य १० खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका (यूके), मोडेर्ना (अमेरिका) क्यानसिनो (चीन), गामालेया रिसर्च इन्स्टीट्यूट (रुस), जान्ससेन (बेइजिङ् इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म (चीन), सिनोभाक र बुटानटान (ब्रजिल) वुहान इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म (चीन), नोभाभाक्स (अमेरिका)ले खोपको तयारी गरेका छन् । मानिसमा रुघाखोकीको लक्षण देखाउने अन्य चार प्रकारका कोरोनाभाइरस पहिल्यैदेखि नै संसारमा अस्तित्वमा रहेका छन् । ती कुनैको विरूद्ध पनि खोप विकास भएको छैन ।
के खोपका फरक प्रकार छन् ? खोपको काम मानव शरीरमा भाइरसको हानि नगर्ने मात्रा प्रवेश गराएर रोग प्रतिरोधी क्षमतालाई भाइरससँग लड्न सिकाउने हो । तर यो सिकाउने विधि धेरै छ र अध्ययनकर्ताहरू फरक तरिका प्रयोग गरिरहेका छन् । फाइजर र मोर्डेर्नाको खोपले कोरोनाभाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत् शरीरमा प्रवेश गराउने विधि प्रयोग गरेका छन् । शरीरभित्र यसले भाइरसको प्रोटिन बनाएर रोग प्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ । यो पूरै नयाँ प्रविधि हो । अक्सफोर्ड र रुसी खोपले चिम्पाजीमा हुने खतरारहित भाइरसलाई अनुवंशिक परीवर्तन गरेर कोरोनाभाइरसजस्तै बनाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउन सकिने आशा गर्छ । चीनमा बनेका दुई खोप भने कोरोनाभाइरस नै सङक्रमण गर्न नसक्ने बनाएर शरीरमा प्रवेश गराउने विधिमा आधारित छन् । यीमध्ये कुन विधिले काम गर्छन भन्ने ज्ञान महत्वपूर्ण हुन्छ र त्यसका लागि ‘चुनौती परीक्षण’ भनिने जानाजान सङक्रमण गराएर अध्ययन गरिन्छ । के गर्न अझै बाँकी छ ? खोपको अर्बौं मात्रा उत्पादन गर्ने बाटो खोज्न बाँकी छ । खोपलाई सर्वसाधारणको प्रयोगका निमित्त खुला गर्नु अगाडि सम्बन्धित निकायको स्वीकृति प्राप्त हुनुपर्छ । र अन्ततः विश्वका अधिकांश मानिसलाई खोप लगाउने कार्यका सामु ठूला चुनौतीहरू छन् ।
कति मानिसलाई खोप दिनुपर्छ ? यो कुरा खोप कत्तिको प्रभावकारी छ भन्ने कुरा थाहा नभई भन्न कठिन छ । सामान्यतया ६० देखि ७० प्रतिशत मानिसलाई खोप दिएपछि समुदायमा रोग नफैलने मानिन्छ । यसको अर्थ अर्बौं मानिसलाई खोप दिनु आवश्यक छ । किन खोप चाहियो ? यदि हाम्रो जीवन पहिलेजस्तै सामान्य बनाउने हो भने खोप चाहिन्छ । अहिलेपनि धेरै ठूलो सङख्यामा मानिसहरू कोरोनाभाइरस सङक्रमणको जोखिममा छन् । अहिले जारी प्रतिबन्धहरूका कारण मात्रै हजारौँ मानिसको ज्यान जोगिएको छ । खोपले सुरक्षित तरिकाले हाम्रो शरीरलाई सङक्रमणविरुद्ध लड्न सिकाउँछ । यसले कि कोरोनाभाइरस सङक्रमण नै नहुने बनाउँछ कि कम्तीमा यसको प्रभावलाई कम घातक बनाउँछ । कोरोनाभाइरसबाट बच्न खोप र सुधारिएको उपचारको अवसर नै उपयुक्त उपाय हो । बीबीसी