चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत

ट्रम्प–सी भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा
शनिबार, जेठ २, २०८३

काठमाडौं । बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन् । तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ । राष्ट्रपति सी जिनपिङले दुई देशबीच स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको बताएका छन् । उनले सहकार्यलाई बलियो बनाएर दुवै देशले आफ्नो विकास र पुनरुत्थानलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गरे । चाइना इन्स्टिीच्युट या अन्तराष्ट्रिय अध्ययनकी सह–अनुसन्धानकर्ता सु सियाओहुईले ट्रम्पको भ्रमणले चीन–अमेरिका सम्बन्धमा सकारात्मक सन्देश दिएको बताइन् । उनका अनुसार यो भेटले भविष्यमा उच्चस्तरीय कूटनीतिक संवाद र राष्ट्रप्रमुखस्तरीय भेटघाटका थप अवसर खोल्नेछ ।
सुका अनुसार ट्रम्पले यसै वर्षभित्र फेरि संवादको प्रस्ताव राख्दै सी जिनपिङलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् । उनले चीन र अमेरिका दुवैका लागि यो वर्ष विशेष महत्वको रहेको उल्लेख गर्दै दुवै देशले आन्तरिक राजनीतिक प्राथमिकता र कूटनीतिक एजेन्डा अघि बढाउन एकअर्काको सहयोग आवश्यक पर्ने बताइन् । यस वर्ष चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) सुरु गर्दैछ भने अमेरिकाले स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउँदैछ । साथै, चीनले एपेक आर्थिक नेतृत्वको बैठक आयोजना गर्नेछ भने अमेरिकाले जि २० सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको छ । सु सियाओहुईले चीन–अमेरिका सम्बन्धमा मतभेद रहिरहने भए पनि निरन्तर रणनीतिक संवादमार्फत सहमति खोज्न सकिने बताइन् । उनका अनुसार आर्थिक तथा व्यापारिक मुद्दादेखि संवेदनशील विषयसम्म भविष्यमा उतारचढाव आउन सक्छ, तर संवाद कायम राखे सम्बन्ध नियन्त्रणबाहिर जानबाट रोक्न सकिनेछ । उनले दुवै देशले साझा लक्ष्यतर्फ अघि बढ्न रणनीतिक संवादलाई निरन्तरता दिनु नै चीन–अमेरिका सम्बन्धको मुख्य आधार हुनुपर्नेमा जोड दिइन् ।-सीसीटीभी

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार