अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित

बिहीबार, भदौ ३१, २०७८

काबुल । अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् ।  यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीको भएको सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीले जनाएका छन् । देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरु विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाको सङ्ख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ । देश वाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीको भनाइ छ ।    विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र सङ्कटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सबैलाई आह्वान पनि गरेको छ । 
अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसङ्घले विदेशी समुदायलाई आग्रह गरेको हो । संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । 
ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए । 
संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग विग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्रसङ्घले जनाएको छ । 
हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तरराष्ट्रिय दातासँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन् । उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताएका छन् । 
गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।  अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार