इरानद्वारा युरेनियम संवर्धन कार्य फेरि सुरु 

बिहीबार, पुस २३, २०७७

तेहरान । इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु तत्व संवर्धन कार्य पुनः सुरु गरेको छ । इरानको यो कार्य सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको उल्लंघन हो । संवर्धित युरेनियम रिएक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणुबम बनाउन पनि प्रयोग हुनसक्छ । अस्त्र बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई ‘धम्कीपूर्ण परमाणु अभियान’ सञ्चालन गरेको आरोप लगाएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिने गर्छ । सन् २०१५ को उक्त सम्झौताअनुसार इरान परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो । सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रत्युत्तर दिने बताएको थियो । उक्त सम्झौतालाई ज्वोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) पनि भनिन्छ । 

कोरियाली ट्याङक कब्जामा
एक अर्काे घटनामा इरानको रिभोलुशनरी गार्ड्सले रसायन बोकेको एउटा दक्षिण कोरियाली ध्वजावायक ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । उसले ‘वारंवार समुद्री पर्यावरण कानुन उल्लङ्घन’ गरेकाले नियन्त्रणमा लिएको जनाएको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्करलाई तत्कालै छाड्न माग गरेको छ ।

इरानी घोषणा
इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताए । राष्ट्रपति हसन रुहानीले उक्त आदेश दिएको उनले बताए । उनका अनुसार रुहानी नयाँ कानुन अनुसार त्यसो गर्न ‘बाध्य’ छन् किनकि नयाँ कानुन अनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्नेछ । गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो । उक्त हत्याका लागि इरानी नेताहरूले इजरायललाई आरोपित गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको एउटा जानकारीमा इरानको कदमको पुष्टि गरेको छ ।

अरू देशको प्रतिक्रिया
केही विज्ञहरूले इरानको उक्त घोषणा आगामी जनवरी २० देखि अमेरिकमा सत्तारोहण गर्ने जो बाइडनलाई दबाव दिन गरेको रूपमा हेरेका छन् । इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुनः उक्त सम्झौतामा सामेल हुनसक्ने बाइडनले बताइसकेका छन् । युरोपेली संघका प्रवक्ताले इरानको परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको रूपमा उक्त कदमलाई अथ्र्याएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सैन्य परमाणु कार्यक्रम विकास गर्ने उद्देश्यले उक्त कदम चालेको बताएका छन् । उनले इजरायलले इरानलाई परमाणु हतियार बनाउन नदिने बताएका छन् ।–बीबीसी 
 

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार