सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । कोभिड–१९महामारीका कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल १० हजार १४० सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९का बिरामीको सङ्ख्या आइतबार ४६ हजार ७६७ रहेकोमा पछिल्लो तथ्याङ्कले यो सङ्ख्या बढेर ६८ हजार पुगेको देखाएको छ । श्रीलङ्काले कोभिड–१९ सङ्क्रमणमा तीव्र वृद्धिको सामना गरिरहेको छ र स्वास्थ्यकर्मीहरूले हालैका हप्ताहरूमा बिरामीहरूको वृद्धिको कारण डेल्टा विविधता भएको र सबैभन्दा बढी सङ्क्रमित राजधानी कोलम्बोमा रहेको बताएका छन् । सङ्क्रमण दर उच्च भएपछि मृतक सङ्ख्यामा आएको वृद्धिसँगै सहरी क्षेत्रका दाहसंस्कार स्थलमा पनि चौबीसै घण्टा भीड देखिन थालेको छ । कोभिड–१९ को सङ्क्रमण उच्च बनेपछि अस्पतालहरूमा बिरामी भर्ना गर्न शय्या अभाव हुन थालेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले आगामी हप्ताहरूमा स्थिति चरम अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् र मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् । सङ्क्रमण फैलिन नदिन सरकारले देशभरी निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ ।–सिन्ह्वा