सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीले कब्जामा लिएको घोषणा गरेका छन् । देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् । तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन् । तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र प्रान्त नै आफूहरुको नियन्त्रणमा आइसकेको दाबी गरे । ‘अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ’, प्रवक्ता मुजाहिदले भने । आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन् । पञ्जशिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन् । पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ । भिडन्तका क्रममा अरु कैयौंको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन । काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरुले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् । पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो । बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्नसक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरुले कब्जामा लिन नसकेको बताइन्छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा
संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाउनुभएको हो । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन् । आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आएका हुन् । उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका महासचिव गुटर्रेसका प्रवक्ताले जनाएका छन् । उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका हुन् । त्यसअवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए । देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए । त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए । उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए ।–रासस/सिन्ह्वा