हुथी विद्रोहीद्वारा यमनको मारिब कब्जा

बिहीबार, भदौ १७, २०७८

साना । यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई कब्जामा लिएको दाबी गरिएको छ । सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको बुधबार जानकारी दिएका हुन् ।   विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए भने यसलाई रणनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । ‘विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्’ एक सैन्य अधिकारीले भने ।  इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो ।   हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ ।  मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र पलायन भएका छन् । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार