बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि 

बिहीबार, भदौ १७, २०७८

लण्डन । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या ६७ लाख ८९ हजार ५८१ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको पाइएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भएको छ ।  कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार ३१६ जना सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ ।   बेलायतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ११ लाख ९० हजार ७३० रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
विज्ञहरूले १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउन सुझाव दिएका छन् । उनीहरूको सुझावअनुसार बेलायत सरकारले निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ । 
त्यसैगरी बेलायतले आफ्नो देशमा रहेकाहरूलाई तेस्रो मात्रा खोप पनि लगाइदिने व्यवस्था गर्न लागेको छ । अर्को महिनादेखि त्यस्तो व्यवस्था हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।  तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भने विश्वभरी खोपको समान वितरणमा असर पर्ने भएकाले खोपको तेस्रो मात्रा लगाउने कुरामा निरुत्साहित गर्दै आएको छ । 
कतिपय धनी, विकसित र शक्तिशाली मुलुकहरूले कोरोनाभाइरसविरुद्ध तेस्रो मात्रा खोप पनि प्रयोग गर्दा सबैले खोप पाएको अवस्था आउन ढिलाइ हुने चिन्ता डब्लूएचओले गरेको छ । धनी र गरिब मुलुकहरूका बीचमा खाडल सृजना गर्ने र मानवीय दृष्टीले पनि यो राम्रो नहुने डब्लूएचओको भनाइ छ । बेलायतमा अहिलेसम्म १६ वर्षभन्दा बढी उमेरका व्यक्तिमध्ये ८८ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् ।- रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार