अफगानिस्तानमा रहेको जापानको दूतावास कतार सार्ने तयारी 

बिहीबार, भदौ १७, २०७८

टोकियो । जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका अधिकारीहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् ।  तालिबान विद्रोहीहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्योल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानमै रहेर काम गर्न अप्ठ्यारो मानिरहेका छन् ।  तालिबान विद्रोहीहरूको सरकारप्रति आशङ्का र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन् । धेरै देशहरूले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रूपमा लिइएको छ । 
जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गरेका हुन् । 
अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रूपमा टर्कीको राजधानी स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको उनले जानकारी दिए ।  ‘तालिबानका अधिकारीहरूसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरूको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,’ विदेश मन्त्री मोतेगीले भने ।
अमेरिकाले भने गत मङ्गलबार आफ्ना सबै सैन्य अधिकारीहरूलाई अफगानिस्तानबाट फिर्ता गरेर अफगानिस्तानमा आफ्नो सैन्य संलग्नता अन्त्य गरेको छ ।  अफगानिस्तानबाट हात झिक्नु परेको विषयलाई अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्धबाट बाहिरिएको रूपमा लिएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार