लुजियानामा ‘विनाशकारी’ आँधीका कारण लाखौँ अमेरिकी नागरिक विद्युत सेवाबाट वञ्चित 

मंगलबार, भदौ १५, २०७८

लुइजियाना । अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ । डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट वञ्चित बनेका स्थानीय प्रशासनले पुष्टि गरेको छ ।  मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा अवतरण गर्दा ‘क्याटगोरी फोर’ को हुने पूर्वानुमान गरेका भए पनि सोमबार अलिकति कमजोर अर्थात् क्याटगोरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् ।
तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएको छ । दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् ।
न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको भए पनि बिरामीहरूलाई चोट नलागेको बताइएको छ । लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् ।  कट्रिना आँधीले सन् २००५ मा एक हजार ८०० जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले आइडाले ‘जीवन जोखिममा पार्ने’ भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गर्दै आवश्यकतानुसार केन्द्र सरकारले सहयोग र उद्धारमा सघाउने बताए ।  आइडाले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पु¥याउने आँकलन गरिएको थियो । एउटा ट्विटर सन्देशमा अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार