थप सावधानी नअपनाएमा डिसेम्बर १ सम्ममा युरोपमा कोभिडजन्य मृत्यु अझै उच्च रहने

मंगलबार, भदौ १५, २०७८

कोपनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने, ‘गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृत्यु हुनसक्ने देखाएको छ ।’  युरोपले अहिलेसम्म १३ लाख कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।  युरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड–१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताए ।  यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसङ्ख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो । 
क्लजले बढी फैलिनसक्ने डेल्टा भेरिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणका अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताए । 
युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ ।  उनले भने, ‘विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।’
युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् ।
उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका युरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भने, ‘हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।’

विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि
वश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका पुष्टि भएको छ । विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्कअनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।
गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यसवर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्म ऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो । 
विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।
यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गतवर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो । गतवर्षको तुलनामा जनवरीदेखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी छ । 
विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । धनी र गरिब राष्ट्रहरूबीच खोपको उपलब्धतामा ठूलो असमानता रहेको गुनासाहरू पनि आएका छन् ।  अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रति १०० जना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा १११ जनामा सात जनाले कोभिड–१९ विरुद्धको एउटा खोप लिएका छन् । डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आए पनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययन अनुसार, सङ्क्रमणविरुद्ध फाइजर÷बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा सङ्क्रमण दर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापि कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् ।– रासस/एएफपी 
 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार