स्वदेश फर्कन काबुल विमानस्थल पुगेका नेपाली ‘सुरक्षित स्थानमा फर्किए’

काबुल विमानस्थलमा आतंकवादी आक्रमण
शुक्रबार, भदौ ११, २०७८

काबुल । नेपाल फर्किन काबुल विमानस्थलमा आएका ४२ जना नेपाली सुरक्षित स्थानमा बसेका छन् । सरकारी अधिकारीका अनुसार बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको हो ।  आफगानिस्तान पनि हेर्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक–दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिए । हालसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब ८०० जना नेपाल फर्किएका छन् । त्यहाँ झन्डै १५ सय नेपाली रहेको तथ्याङ्क सरकारी अधिकारीसँग छ ।  सरकारका अनुसार उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीजस्ता गन्तव्यमा हाल रहेका भनिएका नेपालीको स्पष्ट सङ्ख्या थाहा हुन नसकेको जनाएको छ । विमानस्थल गएका नेपाली अहिले कहाँ छन् ? नयाँदिल्लीस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन रामप्रसाद सुवेदीले विमानस्थलमा बिहीवार स्वदेश फर्कन जम्मा भएका ४२ जना अहिले अर्को सुरक्षित स्थानमा सँगसँगै बसिरहेको जानकारी दिए । उनले भने, ‘उहाँहरू नेपाल आउनका लागि विमानस्थलसम्म पुग्नुभएको थियो तर त्यो सम्भव भएन । त्यहाँबाट फेरि फर्किएर एउटा गुरुद्वारामा हुनुहुन्छ। खानपिन गर्ने, बस्ने सबै व्यवस्था छ र सुरक्षित हुनुहुन्छ।’ उनले बिहीवार काबुल विमानस्थलमा भएको विस्फोटनलाई आफूहरूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै सकेसम्म चाँडो उद्धार प्रक्रिया अघि बढाउन प्रयास गरिरहेको जानकारी दिए ।
‘हामीले उहाँहरूलाई शान्त रहन र पर्खन भनेका छौँ। हाम्रो प्रयास जारी छ। उहाँहरूलाई सकभर आजभोलिमै उद्धार गर्न हामीले विभिन्न साझेदारहरूसँग, राष्ट्रसङ्घीय निकायहरूसँग र सैनिक विमानहरूको प्रयोग गरिरहेका दुईपक्षीय सम्बन्ध भएका मित्रराष्ट्रहरूसँग कुराकानी गरिरहेका छौँ ।’ ती नेपालीहरूको समूह बिहीवार अफगानिस्तानबाट बाहिरिने उद्देश्यसहित काबुल विमानस्थलमा पुगेको थियो। तर उडानको अवसर नपाएपछि फर्किएको थियो । सुवेदीका अनुसार उक्त समूहमा रहेका कतिपय व्यक्तिहरू गैरकानुनी बाटो हुँदै अफगानिस्तान पुगेका थिए । उनीहरू विभिन्न सहरमा रहे पनि पछि एक ठाउँमा भेला भएको जानकारी दिँदै सुवेदीले सो समूहसँग नियमित सम्पर्क भइरहेको जनकारी दिए । काबुल विमानस्थलमा भएको दुईवटा बम विस्फोटनमा कम्तीमा १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान नामक समूहले लिएको छ।

कति जनाको उद्धार भयो ?

यसअघि परराष्ट्र मन्त्रालयले बुधवारसम्म काबुलबाट उद्धार भई नेपाल आइपुगेका व्यक्तिहरूको सङ्ख्या ७७० रहेको जनाएको थियो । बिहीवार ११ जना नेपाली नागरिकहरू काबुलबाट दिल्ली पुगेका थिए । उनीहरू शुक्रवार काठमाण्डू आइपुग्ने जनाकारी दिल्लीस्थित नेपाली दूतावासले दिएको छ। उद्धार गरिएका अन्य दुई नेपाली पनि दिल्लीमै छन् । अहिलेसम्म उद्धार गरिएका नेपालीमध्ये अधिकांश विभिन्न पश्चिमा देशका दूतावासको सुरक्षार्थ खटिएका गार्डहरू रहेका छन् । आफ्ना कूटनीतिज्ञ र कर्मचारीको फिर्तीसँगै ती देशहरूले नै सुरक्षा गार्डहरूलाई पनि हवाई उडानमार्फ्त सुरक्षित गन्तव्यमा लगिरहेका छन् ।  परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उद्धार कार्य अघि बढाउने समयमा लगभग ८६० जना नेपालीहरू राष्ट्रसङ्घका विभिन्न निकायमा अफगानिस्तानमा कार्यरत रहेको विवरण सङ्कलन गरेको थियो । तीमध्ये झन्डै ३०० जना पछिल्लो तनावअघि नै नेपाल आएको जानकारी पाएको एक अधिकारीले बताए । तालिबानले विदेशी फौजहरूलाई अगामी मङ्गलवारसम्म काबुल छाड्न समयसीमा दिएको छ । विदेशी सेना र सैनिक विमानहरूको सहयोगमा अहिले जारी रहेको हवाई उद्धारको त्यसपछि के हुन्छ भन्ने स्पष्ट छैन । अगस्ट ३१ सम्म उद्धारकार्य सम्पन्न नहुने भएकाले समय लम्ब्याउनुपर्ने प्रस्ताव यूके र जर्मनीजस्ता राष्ट्रहरूले गरेका भए पनि अमेरिकाले सहमति जनाएको छैन । यसै हप्ता अमेरिकी राष्ट्रपति विमानस्थलमै आक्रमणको जोखिम रहेको उल्लेख गर्दै तोकिएकै समयमा उद्धारकार्य सम्पन्न गरिनुपर्ने धारणा राखेका थिए ।-बीबीसी

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार