काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट

बिहीबार, भदौ १०, २०७८

काबुल । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको पेन्टागनले पुष्टि गरेको छ । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ । एक तालिबान अधिकारीले भने कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन् । विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बताए । आक्रमण हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको छ । पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका थिए ।  उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ। योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ ।

हमिद कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई ‘नजरबन्द’मा राखिएको दाबी 

अफगानिस्तानका भूतपूर्व राष्ट्रपति हमिद कार्जाइ र राष्ट्रिय पुनः मिलन उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ । बिहीबार प्रसारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलगायतको सहयोगी समूहबाट अलग गरी तालिबान समूहले काबुलस्थित उनीहरूको घरमा ‘नजरबन्द’ मा राखेको बताइएको छ ।  तालिबान समूहको ‘दयामा भरोसा गरिरहेका’ ती राजनीतिज्ञहरूको गाडी पनि जफत गरेको बताइएको छ ।  तालिबान बुधबार अब्दुल्लाहको घरमा पुगेका रिपोर्टहरू सार्बजनिक भएका छन् । 
काबुललाई आफ्नो  कब्जामा लिएदेखि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने प्रतिज्ञा गरेका छन् । यस समूहले पूर्व राष्ट्रपति कार्जाइ र पूर्व मुख्य कार्यकारी अब्दुल्लाहसँग वार्ता गरेका बताइएको छ । तालिबानको अनपेक्षित आक्रमणपश्चात् यी दुई अधिकारीहरू काबुलमा रहँदै आएका पनि बताइएको छ । गत हप्ता अब्दुल्लाह अब्दुल्लाह र कार्जाइले काबुलका ‘तथाकथित’ कार्यकारी तालिबान गभर्नर अब्दुल रहमान मानसौरलाई भेटका थिए ।
उनीहरूले काबुल नागरिकको जीवन, सम्पत्ति र गरिमा रक्षाको प्राथमिकताका विषयमा छलफल गरेका थिए । उक्त अवसरमा अब्दुल्लाहले तालिबानका कार्यवाहक काबुल गभर्नरसँग राजधानी काबुलमा सामान्य अवस्थामा बसोबास गर्न सुरक्षित महसुस गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका थिए । 
तालिबान नेतासँगको भेटपछि अब्दुल्लाहले तालिबानले समावेशी सरकार बनाउने विश्वास व्यक्त गरेका थिए । यस महिनाको सुरुतिर संयुक्त सरकारका लागि अन्तर्राष्ट्रिय दबाबपछि तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ‘सबै पक्ष समावेश भएको’ सरकार स्थापना गर्ने प्रतिज्ञा गरेका थिए ।
काबुल उद्धार उडान रोकिहाल्न नहुने नेदरल्याण्डको भनाइ 

अफगान तालिबान समूहको नियन्त्रणमा आइसकेको अवस्थामा अफगानिस्तानमा आफ्ना र अफगानिस्तानी केही नागरिक छोडेमा यसको असर ‘भयानक’ हुने नेदरल्याण्डले बताएको छ । तालिबानद्वारा अफगान राजधानीमा कब्जा भएपछि विकसित घटनाक्रमले तत्काल उद्धार उडान रोक्न नहुने नेदरल्याण्डका अधिकारीको तर्क छ । विकसित पछिल्लो परिस्थितिका कारण काबुलको विमानस्थलमा असुरक्षा बढेको भन्दै अमेरिकाले उद्धारमा रहेका डच अधिकारीलाई काबुल छोड्न आग्रह गरेको प्रधानमन्त्री मार्क रूटले पुष्टि गरेका छन् । रूटले एनओएस टेलिभिजनसँग भने, “अमेरिकी अधिकारीहरूले हामीलाई आफ्नो काम सिध्याउन भनेका छन् । यो चिन्ताजनक कुरा हो । वास्तविकता के हो भने हामी तत्कालका लागि उद्धारको अवश्यकता रहेका डच नागरिक र उनीहरूका परिवार वा अन्य मानिसहरूलाई ल्याउन असमर्थ छौँ ।”  काबुल तालिबानको कब्जामा गएदेखि नेदरल्याण्ड्सले एक हजार ५०० व्यक्तिलाई उद्धार गरेको छ । काबुलमा रातारात विमानस्थलमा बसमार्फत पुगेका थप ११८ जना स्थानीय समयअनुसार सकुशल नेदरल्याण्ड पुगेका छन् । अफगानिस्तानमा उद्धार गर्न बाँकी डच मानिसहरूको सङ्ख्या अहिलेसम्म ‘स्पष्ट छैन’ उनले भने । “तालिबान समूहको धम्कीका कारण गएको केही घण्टामा विमानस्थलको अवस्था नराम्ररी खस्किएको छ । मानिसहरू आत्तिएका छन् ।” 
“डचहरू फ्रान्स र बेल्जियमसँग सम्पर्कमा थिए तर उनीहरूले पनि उद्धार कार्य रोक्ने घोषणा गरेका छन् । बेलायत र जर्मनीले अरू के गर्न सकिन्छ भनी हेरिरहेका छन् ।”  डच सरकारले काबुलबाट “सबै सम्भाव्यताबीच आज अपराह्नसम्म अन्तिम उडान भर्ने” घोषणा गरेको छ । विदेश मन्त्री सिग्रिड काग र रक्षा मन्त्री अङ्क बिज्लेभदले संसद्लाई लेखेको पत्रमा भनेका छन्, “यो एउटा पीडादायी क्षण हो किनभने यसको मतलब हालैका सबै प्रयासका बाबजुद नेदरल्याण्ड्समा उद्धारका लागि योग्य मानिसहरू छुट्ने छन् ।” काबुल विमानस्थलमा डच राजदूतावास र ९० शक्तिशाली सैन्य टोली पनि बिहीबारको अन्तिम विमानमा उड्ने बताइएको छ । 
आकस्मिक अवस्थामा एउटा सी–१३० हर्कुलिज त्यस क्षेत्रमा रहने छ । अगस्त ३१ भन्दा अगाडि अमेरिकी सेनाको ठूलो सङ्ख्या तथा उपकरणहरूलाई अफगानिस्तानबाट फिर्ता गर्न लागिएकाले अमेरिकाले सहयोगी अन्य राष्ट्रलाई काबुल छोड्न भनेको डच अधिकारीले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार