अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

बिहीबार, भदौ १०, २०७८

वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो ।  अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ । अफगानिस्तान छाड्न चाहेका मानिसहरूलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो ।    ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भने, ‘उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ । तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ ।’ जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।    तालिबान विद्रोहीहरूले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरूलाई बाहिरिन सहयोग गरेको थियो ।  अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरूलाई पनि बाहिरिन मद्दत गरेको हो ।  अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरूलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरूले प्रदेशका राजधानीहरू कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरू कब्जा गर्न थालेको एक हप्तापछि उनीहरूले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए । 
उनीहरू राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए । उनले थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको बताएका छन् । राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरूले देशको सबै सत्ता आफूहरूको नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन् ।  उनीहरूले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन् । अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरूले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ । तर कतिपयले भने उनीहरू उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन् । 
उनीहरूको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि  नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ ।

उद्धारकार्य समय सीमाभित्रै सक्न बाइडनको निर्देशन 

अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताएका छन ।  सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उनले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताएका हुन् । अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उहाँले दोहो¥याएका छन् । 
आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उनले दिए । उनले भने, आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन् ।  यस प्रयोजनका लागि तालिबानको सहयोगको भने उनले अपेक्षा गरिएको बताए । अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए । यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उहाँले दिए ।  जति चाँडो यो उद्धारकार्य सम्पन्न हुन्छ त्यति नै राम्रो हुने राष्ट्रपति बाइडनले बताए । अहिलेसम्म आफूले लिएको उद्धार मिसनमा कुनै असर नपारेको पनि उनले बताएका छन् । उता तालिबान लडाकुले भने उद्धारकार्ये समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको छ । जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ ।  यहाँ अफगानभन्दा पनि बढी त विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ ।  गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् ।  यता नेटो सैन्यआवद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण यहाँ भीड लागेको र ठूलो सङ्ख्यामाा मानिस आफ्नो देश फर्किन सङ्घर्ष गरिरहेका छन् ।

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’ 

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । 
युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले भने, ‘यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।’उनका अनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ ।  उनले भने, ‘यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।’ 
उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिए । 
हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् ।– रासस÷एएनआई
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार